• २३ भदौ २०८१, आइतबार

राठौरलाई उद्यमशील पुरस्कार

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २३ गते । नेपालगन्जकी लघुउद्यमी अनुजासिंह राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको ‘डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । 

लुम्बिनी प्रदेशभर रहेका करिब एक लाख महिला लघुउद्यमीलाई पछाडि पार्दै नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्रा निवासी राठौरले नगद ५० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको हो । 

‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको नवौँ स्मृति दिवसका अवसरमा राठौरलाई सो पुरस्कार प्रदान गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शुक्रबार एक कार्यक्रमबिच लघुउद्यमी राठौरलाई सो पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।  मेयर विष्टले पुरस्कार हस्तान्तरण गर्दै निर्धन उत्थान जस्ता धेरै लघुवित्तले हजारौँ महिलाको जीवनस्तर माथि उठाएको बताउनुभयो । 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर २०७५ सालमा नेपालगन्ज बिपी चोकमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी राठौरले अहिले पाँच जनालाई रोजगारी दिनुभएको छ ।