• २ माघ २०८१, बुधबार

तिज गीतमा वातावरण जोगाउने सन्देश

blog

वीरेन्द्रनगर नगरपालिका–४ मा वन वातावरणसम्बन्धी जनचेतनामूलक तिज गीत प्रतियोगिता । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २२ गते । वीरेन्द्रनगर नगरपालिका–४ का महिलाले हरितालिका तिज वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाका पीडा, वेदनाभन्दा पनि वन वातावरण महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नुपर्ने जस्ता चेतनामूलक गीत गाएर उनीहरूले सन्देश दिएका छन् । 

भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४ ले तिजको अवसर पारेर शुक्रबार वन वातावरणसम्बन्धी जनचेतनामूलक तिज गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी नौ वटा महिला टोली सबैले वन वातावरण जोगाउनुपर्ने, जथाभाबी वन फँडानी गर्न नहुने, वृक्षरोपण गर्नुपर्ने जस्ता सन्देश दिए । 

महिलाले एक रुख काट्दा १० वटा बिरुवा रोप्न सुझाव दिएका थिए । भूक्षय आउने, खडेरी चर्कने, समयमा पानी नपर्ने जलवायु परिवर्तनको असर भएको भन्दै वन र वातावरण जोगाउन सके मानिससहित पशुपन्छीका लागि पनि हित हुने सन्देश गीतमा थियो । भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले वडा नं. ४ भित्रका टोलविकास समितिलाई वन र वातावरणप्रति सचेत गराउन जनचेतनामूलक तिज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । तिजमा मौलिकतासँगै जनचेतना पनि जगाउन आवश्यक पर्ने हुँदा तिज जस्ता चाडपर्वमा सामाजिक सङ्घसंस्थाले यस्तै रचनात्मक कार्यक्रम गर्नुपर्ने उहाँले औँल्याउनुभयो । गीतमा दिइएका सन्देशसँगै आफ्ना आनीबानी र व्यवहार परिवर्तन गर्न पनि उहाँले सुझाव दिनुभयो । 

प्रतियोगिताका निर्णय किरण पन्तले गीतका माध्यमबाट वन र वातावरणप्रति महिला सचेत बनेको पाइएको बताउनुभयो । पुरानो परम्पराका साथै नयाँ चेतनाको विकास भइरहेकाले वन र वातावरणका साथै अन्य रचनात्मक विषयमा पनि कार्यक्रमको आयोजना गरिनुपर्ने उहाँको भनाइ छ । नौ वटा महिला टिम रहेको प्रतियोगितामा मङ्गल टोलविकास संस्था प्रथम, सहिद स्मृति टोलविकास संस्था द्वितीय, गैरीटोल टोलविकास संस्था तृतीय तथा शीतल टोलविकास संस्था र सूर्यमुखी टोलविकास संस्थाले सान्त्वना स्थान हासिल गरेका छन् । विजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।