• ११ मंसिर २०८१, मङ्गलबार

सङ्कटमा जलचर जीविकामा असर

blog

तमोर नदीमा माछा मार्न जाल हान्दै धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारका स्थानीय ।

कविराज घिमिरे

हिले, भदौ २२ गते । धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो । 

पछिल्लो समय भने अवस्था फेरिएको छ । अधिकांश स्थानीयले अहिले माछा मार्न छाडेका छन् । माछा मार्न छाड्नुको कारण हो, नदीमा माछा लोप हुनु । उनीहरू अहिले पनि माछा मार्न चाहन्छन् तर नदीमा माछा लोप हुँदै गएका कारण पुख्र्यौली पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।

भैँसेटारका राजन माझी पहिले र अहिले नदीमा माछाको अवस्था पूर्ण रूपमा परिवर्तन भएको बताउनुहुन्छ । “पहिले एक व्यक्तिले दैनिक तीन/चार किलोसम्म माछा मार्ने गरेकामा अहिले आधा किलो मार्नसमेत निकै मुस्किल हुने गरेको छ,” माझी भन्नुहुन्छ । नदीमा माछा कम हुँदै गएका कारण स्थानीयले पेसा परिवर्तन गर्नुपर्ने अवस्था आएको उहाँ थप्नुहुन्छ । 

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटाको सिमाना हुँदै बहने तमोर नदीको किनारमा अधिकांश माझी समुदायको बसोबास छ । कृषिसँगै माछा मार्नु माझी समुदायको मुख्य कर्म हो । केही वर्षयता भने नदीहरूमा माछा घटेसँगै माछा मार्ने काम प्रायः बन्द छ । केही वर्षअघिसम्म यस क्षेत्रमा पर्ने याक्चना, कुसेटार, फलामेटार, भैँसेटार, डिहीटारलगायत तमोर नदीमा बग्रेल्ती माछा पाइन्थे । अहिले एकाएक माछा पाइन छाडेको चौबिसे गाउँपालिका–३, फलामेटारका महेन्द्र न्यौपाने बताउनुहुन्छ । 

सङ्खुवासभा भोजपुर धनकुटा हुँदै बहने अरुण नदीमा समेत माछाको अवस्था उस्तै छ । नदीमा पानीको सतह घटेको समयमा समेत माछा भेटिन छोडेको छ । अरुण तमोर तथा अरुण नदीमा असला, कत्ले, बुदुना, काभ्रे, बाम, तितेलगायत जातका माछा पाइन्छ । अहिले यी माछा घट्दो अवस्थामा छन् । त्यसो त तमोर र अरुण नदीमा माछा घट्ने भनेको समग्र सप्तकोशी नदीमै माछामा समस्या हुनु रहको जानकारहरूको भनाइ छ । सप्तकोशीको पानीको बहावमध्ये ५० प्रतिशत यी दुई नदीले ओगट्छ । 

माछा घट्नुमा नदीमा निर्माण हुने हाइड्रो पावरसहित विभिन्न संरचना, विषादीको प्रयोग, करेन्ट लगाएर तथा विस्फोट गरेर माछा मार्नु र नदीमा गरिने फोहोर मुख्य कारण रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत रमेश यादव बताउनुहुन्छ । माछा हुर्कन, खेल्न तथा प्रजननका लागि ठुला नदी उपयुक्त मानिन्छन् । गर्मी लागेसँगै माछासमेत ठुला नदीमार्फत उकालो लाग्ने गर्छन् । नदीमा निर्माण गरिने संरचना, विषादी, करेन्टले माछाको जीवनचक्र सङ्कटमा परेको यादवको भनाइ छ ।

माछा हराउनुले पर्यावरणमा ठुलो जोखिम निम्त्याउने विज्ञको भनाइ छ । यसले इकोसिस्टममै असर गर्ने यादव बताउनुहुन्छ । “घडियाललगायत विभिन्न माछा मात्र खाएर बाँच्ने चराचुरुङ्गीलाई असर पुग्छ, उनीहरूको जीवन समाप्त हुन सक्छ । यसले जलचरको एक चक्र नै समाप्त हुन सक्छ । यो भनेको वातावरणका लागि ठुलो असर हो,” प्रमुख यादव भन्नुहुन्छ । 

त्यसो त पछिल्लो समय नदीमा माछा संरक्षण गर्न स्थानीय तह नै जुट्नुपर्ने आवाज उठ्न थालेको छ । माछा मार्न हुने अवैध क्रियाकलाप आफूहरूले रोक्न पहल गरे पनि सफल नभएको तथा स्थानीय तहले रोक्नुपर्ने माग स्थानीयको छ । “हामी रोक्ने कोसिस त गर्छौं तर हामीलाई नै धम्क्याएर माछा मार्छन् । सोर्सफोर्ससहित माछा मार्न आएका हुन्छन् । त्यसैले सम्बन्धित स्थानीय तहले नै यसको जिम्मेवारी लिएर रोक्नु पर्छ,” छथर गाउँपालिकाका तेह्रथुमका स्थानीय डम्बर लिम्बू भन्नुहुन्छ । 

माछा घटे पनि माछा हेर्ने बेग्लै कार्यलयसमेत नभएकाले कुन कुन माछा कति घट्यो भन्ने तथ्याङ्क र जानकारी प्रस्ट पाउन मुस्किल छ । त्यसैले माछाको संरक्षण गर्न माछाको क्षेत्रमा काम गर्ने कार्यालय स्थापना गरी माछालाई हानि पुग्ने मानवीय क्रियाकलाप रोक्नुपर्ने विज्ञहरूको सुझाव छ ।