राधा लुइटेल
फिदिम, जेठ ३ गते। किराँत राई संस्कार र संस्कृतिमा आधारित साकेला नृत्यले शनिबार पाँचथरको सदरमुकाम फिदिम गुञ्जायमान बन्यो। उभौली पर्वको अवसर पारेर किराँत राई यायोख्खा जिल्ला कार्य समिति पाँचथरले आयोजना गरेको प्रतियोगितामा प्रस्तुत भएका मौलिक शैलीका साकेला नृत्यका कारण सदरमुकाम क्षेत्र गुञ्जायमान बनेको हो।
कार्यक्रममा सदरमुकाम फिदिम, फालेलुङ र तुम्बेवाबाट मौलिक भेष भुषामा सजिएर आएका कलाकारले सिलिको शैलीमा ताल मिलाउदै साकेला नाचे।
नृत्यमा सहभागी कलाकारले कृषि कर्मसँग जोडिएका हलो, जुवा, जोतारे, हल्लुड, घुम, डोको, थुन्से, नाङलो, पेचा, कोल, मदानी, ढुङ्ग्रो र तोङबाका भाँडा सहितका औजार बोकेका थिए। उनीहरुले अन्नको ब्याड राख्ने देखि रोप्ने गोडमेल गर्ने र पाकेको अन्न भित्र्याएपछि प्रशोधन गरेर उपभोग गर्ने प्रकृया सम्मका गतिविधिलाई अभियनय मार्फत प्रस्तुत गरे।
नृत्यमा प्रौढ, युवा, किशोर देखि बालबालिका सबै उमेर समूहका नागरिकको उत्साहजनक सहभागिता थियो।