• २३ भदौ २०८१, आइतबार

‘सांसदलाई सवाल’

योगेश भट्टराईलाई प्रश्न : दुई पटक सांसद हुँदा ताप्लेजुङमा के के काम गर्नुभयो ?

blog

प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराई

काठमाडौँ, भदौ २२ गते । ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ।

गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै आफू सांसदका रुपमा निर्वाचित भएपछि भौतिक र पूर्वाधार विकासले ताप्लेजुङले प्रगति गरेको बताउनुभएको हो । ०७४ अगाडि २५ वडामा मात्र सडक पुगेको र अहिले ६१ वडामै पुगेको उहाँको भनाइ छ ।सडकको स्तरोन्नति गर्नुपर्ने आवश्यकता भने बाँकी नै रहेको उहाँले स्वीकार गर्नुभएको छ ।

सांसद भट्टराईले ताप्लेजुङलाई पर्यटकीय गन्तव्य, धार्मिक पर्यटकको केन्द्र बनाउन सकिने बताउनुभएको छ । तिब्बत, सिक्किम र दार्जिलिङ आइपुग्ने पर्यटकलाई आकर्षित गर्न सकेमा ताप्लेजुङ मात्र नभएर पूर्व क्षेत्रकै पर्यटकीय क्षेत्रलाई टेवा पुग्ने बताउनुभएको छ । उहाँले पूर्वको पर्यटकीय क्षेत्र विकासका लागि सुनसरीको चतरा, खोटाङको हलेसी र ताप्लेजुङको पाथिभरालाई सर्किट बनाउनुपर्नेमा जोड दिनुभएको छ । 


भट्टराई २०२३ साल भदौ २१ गते बुवा भीमलाल र महेन्द्रदेवी भट्टराईको कोखमा ताप्लेजुङको मौवाखोलामा जन्मनुभएको हो। उहाँ २०३६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। विद्यालयमा पढ्दादेखि नै उहाँले अनेरास्ववियुमा संलग्न भएर राजनीति सुरुवात गर्नुभएको हो। भट्टराई २०३६/२०३७ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा होमिनु भएको हाे। २०४१ सालमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सहभागी हुँदा उहाँ पहिलो पटक जेल बस्नुभयो। २०४१ सालमा ताहाचल क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित हुनुभएका भट्टराई २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्नुभएको हो। वि.सं. २०६२/६३ को जनआन्दोलनमा एमाले काठमाडौँ उपत्यका कमिटीको सचिवको जिम्मेवारीमा रहनुभएका भट्टराई त्यसपछि केन्द्रीय राजनीतिमा प्रभावशाली ढंगले उपस्थित हुनुभएको हो।  भट्टराई नेकपा (एमाले) को ८ औँ  महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पहिलो पटक निर्वाचित हुनुभयो।

पार्टीको नवौँ महाधिवेशनमा सचिव पदमा निर्वाचित हुनुभएका भट्टराई १० औँ महाधिवेशनबाट पुनःसचिव पदमा निर्वाचित हुनुभयो। उहाँ २०७४ सालमा पहिलो पटक ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य बन्नु भएको हो। पहिलो पटक संसद बनेलगत्तै उहाँ मन्त्री बन्नुभयो। भट्टराई २०७६ साल साउनदेखि ०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएको हो। समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका भट्टराई पर्यटन, सूचना प्रविधि र अर्थनीतिका जानकार हुनुहुन्छ।

प्रस्तुत छ– नेकपा (एमाले) का सचिव, पूर्व मन्त्री एवम् ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीका आधारमा तयार ‘सांसदलाई सवाल’ :