• ११ मंसिर २०८१, मङ्गलबार

सारु कान्छाबाट एक सय सर्पको उद्धार

blog

सर्प उद्धार गर्दै सारु कान्छा । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता 

बुटवल, भदौ २१ गते । रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । 

रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ ।  

सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको बताउनुभयो । असोज महिनामा सबैभन्दा बढी सर्पको बिगबिगी हुने भएकाले अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।  

जाडो महिना लाग्दै गर्दा सर्प दुलोभित्र पस्ने र आहार खोज्न बाहिर निस्कने भएकाले असोज महिना तराईमा सबैभन्दा बढी सर्पको जोखिम हुने गरेको उहाँले बताउनुभयो । अहिले पानी परिरहेका कारण सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्प उद्धारकर्ता सारु कान्छालाई अहिले भ्याइनभ्याइ भएको छ । सारु कान्छाले गत वर्ष करिब ६० वटा विषालु गोमन, करेतलगायतका सर्प उद्धार गरेर जङ्गलमा छोड्नुभएको थियो ।   

रुपन्देहीको सैनामैना नगरपालिका–१०, पानबारीका सर्प उद्धारकर्ता सारु कान्छालाई अहिले फुर्सदै छैन । विगतका वर्षभन्दा धेरै सर्पको बिगबिगी भएकाले उहाँको व्यस्तता पनि बढेको छ । सर्प देख्नेबित्तिकै उद्धारका लागि रुपन्देहीको सैनामैना–१०, झिमझिमियाका सारु कान्छा सहयोगी मात्रै होइन, सबैका प्रिय बन्नुभएको छ । 

सर्प उद्धार गर्दा कसैले खुसी भएर दिएको पैसा सारु कान्छा आफैँले खर्च गर्नुहुन्न बरु क्यान्सरपीडित, सुत्केरी र बालबालिकाका लागि सहयोग गर्दै आउनुभएको छ । अहिले दैनिक जसो पानी परिरहेकाले सर्पको बिगबिगी बढेको बेला चेतबहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि वरदान नै साबित हुनुभएको छ । कसैले फोन गरेर बोलाउँदा उहाँ सर्प उद्धार गर्न पुगिहाल्नु हुन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. नेत्र रानाले गर्मीयाम सुरु भएयता अस्पतालमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । डा. रानाले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । 

उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा वैशाखदेखि भदौसम्म करिब तीन सयभन्दा बढी सर्पले टोकेका बिरामी उपचारका लागि अस्पताल आएको बताउनुभयो ।