• २ माघ २०८१, बुधबार

कालीकोटमा किवी खेती

blog

किसान किवी खेतीतर्फ आकर्षित । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, भदौ २१ गते । कालीकोट जिल्लामा किवी खेती सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले सुरु गरेको किवी खेतीले उत्पादनसमेत दिन थालेको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिकामा लगाएको किवीले राम्रो फल दिन सुरु गरेको छ । यसअघि खाँडाचक्र नगरपालिका–११, बराँतुका किसानले पनि लगाएको किवीले राम्रो फल दिएको थियो । 

नरहरिनाथ गाउँपालिका–४, अदेलाका किसानले लगाएको किवी फलिसकेको छ । नरहरिनाथ गाउँपालिका खेतीका हिसाबले मकै धेरै उत्पादन हुने क्षेत्र हो । गाउँपालिकाको खोला किनार र केही क्षेत्रमा धान खेती भए पनि प्रायः भूभागमा मकै खेती गर्दै आएका किसान पछिल्लो समय फलफूल खेतीमा अग्रसर हुन थालेका छन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले कृषिका जानकारका अनुसार यहाँ किवी खेतीका लागि राम्रो सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । उहाँले कृषिका जानकारले भनेको कुरा र किसानले गरेको खेतीको प्रतिफलले पुष्टि गरेको दाबी गर्नुभयो । किवी खेती राम्रो हुने देखिएपछि अहिले अरू किसान पनि किवीका बिरुवाको खोजीमा रहेको गाउँपालिकाले जनाएको छ । 

नरहरिनाथपछि किवी खेतीका लागि खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिकालगायतका सबै स्थानीय तह उत्तम देखिएको कृषिका जानकारको भनाइ छ ।