• २ माघ २०८१, बुधबार

सडक छ, सेवा छैन

blog

सांकेतिक तस्बिर

प्रेमराज सिम्खडा

कालीकोट, भदौ २१ गते । कालीकोट जिल्लाका स्थानीय तहमा धेरै जसो ग्रामीण सडक छन् तर स्थानीय तहले खनेका ग्रामीण सडक भए पनि कामका छैनन् । गाउँमा प्रायः सडक निर्माण भएका भए पनि ती सडकले नागरिकलाई सेवा दिन भने सकेका छैनन् । 

रास्कोट नगरपालिका–३ का पङ्खबहादुर फडेराले आफ्नो बिरामी आमालाई रास्कोट अस्पतालमा लिन स्ट्रेचरको प्रयोग गर्नुभयो । फडेरा आफैँ पनि एम्बुलेन्स चालक हुनुहुन्छ । अस्पताल जाने सडक भए पनि सडकमा गाडी गुड्ने सम्भावना नभएकाले बिरामीलाई स्टे«चर, डोकामा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ । 

रास्कोट अस्पताल जानका लागि नगरपालिकाले करोडौँ खर्च गरेर वडा नं. २ को कार्यालय हुँदै अस्पताल पुग्ने एक सडक र वडा नं. ६ हुँदै अस्पताल पुग्ने मूल सडक, यस्तै वडा नं. ५ देखि अस्पताल पुग्ने अर्को तेस्रो सडक निर्माण गरेको छ तर ती सडक प्रयोगमा आएका भने छैनन् । वडा नं. ६ हुँदै अस्पताल पुग्ने सडक कुनै महिना सञ्चालनमा आए पनि अरू सडक भने खाली आफन्तलाई कमाइ खाने भाँडो बनाएको छ । वडा नं. २ का नमराज चौलागाईंले यी सडक निर्माणले अस्पतालसम्म बिरामी जानका लागि सहज होस् भन्ने मनसाय भए पनि बर्सातमा भत्केका सडकलाई मर्मत नगर्दा कामविहीन बन्न पुगेको बताउनुभयो । 

रास्कोट नगरपालिकाले एकपछि अर्को कमिसनका लागि मात्र काम गरिरहेको स्थानीयको आरोप छ तर नगरपालिकाले भने त्यसप्रति कुनै पनि प्रतिक्रिया दिने गरेको छैन । यता सान्नीत्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा सरकारले सडक निर्माणको योजनालाई बढी महत्व दिएका छन् तर निर्माण भएका सडक बर्सातको समयमा कहिल्यै पनि काममा आउँदैनन् । धेरै जसो सडक हिउँदको समयमा पनि काममा नआउँदा नागरिकले जहिले पनि दुःख पाउने गरेका छन् । खाँडाचक्र नगरपालिका–११ का तिलबहादुर शाहीले आफ्नो वडामा निर्माण भएको सडकमा डोजर पुगे पनि गाडी भने अहिलेसम्म नपुगेको गुनासो गर्नुभयो । बिरामी भएमा स्टे«चरमार्फत बोकेर ल्याउनु पर्छ । सडक भए पनि सडकले सेवा दिन अहिलेसम्म नसकेको शाहीको भनाइ छ । 

सान्नीत्रिवेणी गाउँपालिका–७, ८ र ९ जोडिएको मूल सडक बिग्रेको चार वर्ष भयो । सडक मर्मत नहुँदा वडा नं. ७ सडक सम्पर्कमा छैन भने वडा नं. ८ र ९ मा भने माथिल्लो क्षेत्र हुँदै कहिलेकाहीँ मोटरसाइकल पुग्ने गरेका छन् । नरहरिनाथ गाउँपालिकाको मूल सडक नै बर्सातको समयमा चल्दैनन् । शुभकालिका गाउँपालिकाको सबैभन्दा पुरानो सेरीघाट–भर्ता सडक वर्षमा एक महिना जति सञ्चालनमा आउँछ । स्थानीय किरण अधिकारीले सरकारका प्रतिनिधि आपसी भागबन्डामा हुँदा सडक मर्मततर्फ ध्यान नदिने गरेको गुनासो गर्नुभयो ।