• २७ भदौ २०८१, बिहिबार

विषादी द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा

blog

विषादी द्रुत विश्लेषण प्रयोगशालाको उदघाटन गरिदै ।

बोमलाल गिरी

नवलपुर, भदौ १९ गते । नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तरकारी र फलफूलमा अत्यधिक विषादीको प्रयोग हुन थालेपछि सो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्यमा गुनासो आउन थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि विभागले विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको जनाएको छ । प्रयोगशाला साउन २८ गतेदेखि खुलेको भए पनि केमिकलको अभावमा सञ्चालनमा आउन सकेको थिएन । 

अब नियमित रूपमा विषादी परीक्षण गरेर रिपोट तयार गर्न सकिने कृषि प्राविधिक वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ९५ वटा तरकारी बालीको परीक्षण गरिएको छ भने सबैमा सामान्य रूपमै विषादी देखिएको छ ।

मौसमीभन्दा पनि बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गरिएको हुन सक्ने भएकाले त्यसलाई बढी महत्वका साथ हेरिएको भण्डारीले बताउनुभयो । केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवनका प्रमुख महेशचन्द्र आचार्यले सरकारले २४ प्रकारका विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि भारतसँगको खुला सीमाका कारण नेपाल भित्रिएर किसानले प्रयोग गरेको पाइएको जानकारी दिनुभयो । 

तरकारी र फलफूलमा प्रयोग गरिएको विषादीबाट नकारात्मक असर पनि देखिएको, कृषक आफै बढी प्रभावित भएर क्यान्सर, मिर्गौला रोग, छालाको रोग, नपुंसकता लगायत विभिन्न समस्या देखिने कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।