• ११ मंसिर २०८१, मङ्गलबार

सडक जलमग्न बढ्यो दुर्घटनाको जोखिम

blog

सैनामैनाको कलौनीमा सडकमै आएको बाढीमा जोखिम मोलेर वारपार गर्दै सवारीसाधन । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, भदौ १८ गते । पूर्वपश्चिम राजमार्गमा भारी वर्षा हुँदा सडक नै जलमग्न भएर ताल र खोला बन्दा दुर्घटनाको जोखिम बढेको छ । खास गरी बुटवलदेखि १८ किलोमिटर पश्चिम सैनामैनाको सालझन्डी क्षेत्रसम्मै भीषण वर्षा हुँदा सडक पूरै तालमा परिणत हुने गरेको छ । 

सडक डुबान हुँदा दुर्घटनाको जोखिम बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । केही स्थानमा भने सडकबाटै बाढी बग्ने गरेकोसमेत देखिएको छ । बुटवलपश्चिम तामनगर, रानीबगिया, झारबैरा, मुर्गिया, कलौनी, रामापुर, बाँसगढी क्षेत्रमा सडक डुबान परेर ताल बन्ने गरेको छ । 

इलाका प्रहरी कार्यालय मुर्गिया रन्यौराका प्रहरी निरीक्षक प्रदीप पौडेलले ठुलो पानी आउँदा राजमार्ग नै जलमग्न भएर ताल बन्दा दुर्घटनाको जोखिम धेरै बढेको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग नै डुबानमा परेका कारण उक्त सडक भएर यात्रा गर्न जोखिम रहेको छ । 

प्रहरी निरीक्षक पौडेलले केही दिनअघिको भारी वर्षाले पूरै सडक जलमग्न भएर ताल परेपछि आफूहरूले ‘स्कर्टिङ’ गरेर सवारीसाधन पार गराउनु परेको बताउनुभयो । गत भदौ ४ गते परेको भीषण वर्षाले सैनामैनाको बजार क्षेत्र मुर्गिया, रानीबगिया, झारवैरा, कलौनी, सालझन्डीलगायतका क्षेत्रमा दिनभर डुबान भएको थियो । 

स्थानीय रामप्रसाद पोखरेलले सैनामैनाको कलौनीमा सडकमै बाढी पस्दा एउटा बस र एक ट्रकका साथै केही मोटरसाइकल कलभर्टमा फसेको र स्थानीयको सहयोगमा निकालिएको बताउनुभयो । कलौनीका स्थानीय समाजसेवी एकदेव पौडेलले सडकमा बाढी पस्नुको मुख्य कारण पानीको निकास बन्द हुनु रहेको बताउनुभयो । उहाँले ढल पुरेर प्लटिङ गर्ने र बाटो बनाउने तथा ऐलानी जग्गा मासेर घर बनाउँदा समस्या भएको बताउनुभयो । 

सडकवरिपरिको क्षेत्रमा घर बनाउँदा सडक तल र घर माथि हुने गरी बनाउँदा सडक तल पर्ने र सानो पानी आउँदा पनि वरिपरिको पानी सडकमै जम्मा हुने समस्या बढेको हो ।  

कतिपय स्थानमा भने निर्माण गरिएका सडकका कलभर्ट फोहोरले पुरिँदा पानी कलभर्टबाट नभई सडक माथिबाटै बग्ने गरेकाले जोखिम बढेको देखिएको छ । उता बुटवल गोरुसिङ्गे सडक आयोजना बुटवलका प्रमुख होमबहादुर एसीले वरिपरिको जमिनभन्दा सडक तल परेका कारण सडक ताल बन्ने गरेको बताउँदै अब उक्त सडक विस्तार हुने क्रम सुरु भएकाले उक्त समस्या समाधान हुने बताउनुभयो ।