• २ माघ २०८१, बुधबार

पानी निकास नहुँदा गाउँले समस्यामा

blog

लहान समाचारदाता

लहान, भदौ १८ गते । सिराहा नगरपालिका–६, बसबिटा गाउँबाट वर्षाको पानी निकास नहुँदा असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँवासी चार महिना पानीमै आउजाउ गरिरहनुपर्ने समस्या भोग्दै आएका छन् । 

स्थानीय शान्तिदेवी यादव भन्नुहुन्छ, “गाउँबाट पानी निकास हुने नाला नहुँदा बसबिटा गाउँका अधिकांशको घरआँगनमा आधा वर्ष नै पानी जमिरहन्छ । यही बेला सर्पको बिगबिगी रहने भएकाले बालबालिकाको हेरचाह गर्न पनि निकै  समस्या पर्छ ।” 

वडाध्यक्ष इन्द्रजित यादवले पहल नगरेको होइन, स्थानीयवासीको दबाबकै कारण पानी निकास नै नबनाई पक्की सडक बनाउँदा झन् ठुलो समस्या भएको हो यादव भन्नुहुन्छ ।

“सडकभन्दा तल घर भयो । सडकमा पानी सुके पनि आँगनमा पानी सुक्दैन । पानीको निकासका लागि बसबिटा गाउँको पानी कमला नदीमा जोडेर नाला निर्माण गर्नु पथ्र्याे तर हतारको विकास निर्माणले काम गर्दा दुःख भएको छ,” स्थानीय रामविलास भुस्कुलियाले बताउनुभयो । हुलाकीमार्ग निर्माण सङ्घर्ष समितिका संयोजकसमेत रहनुभएका सामाजिक अभियन्ता तथा वरिष्ठ लेखक रामरिझन यादव भन्नुहुन्छ, “मधेशमा विकासको नाममा कतै कतै विनास निम्ताउने काम भइरहेको छ । जताततै नाला निर्माण नगरी असारे विकासको विकृतिले हचुवाको भरमा ढलान निर्माण गर्ने कार्यलाई गति दिइरहेको छ । नालाबिनाको सडकले ठुलो समस्या सिर्जना भइरहेको छ । बसबिटामा देखिएको समस्या पनि यही हो । सिराहा जिल्लाको १७ वटै पालिकामा रहेका प्राविधिकहरूले सडक निर्माण गर्दा पहिले नाला निर्माण गर्नुपर्ने सामान्य ज्ञानलाई समेत व्यवहारमा उतार्न सकेको छैन ।”

सडक डिभिजन कार्यालय लहानका इन्जिनियर जिवछ यादवका अनुसार मधेश प्रदेशमा कालोपत्रे सडक निर्माण गर्नुपर्नेमा नालाबिना ढलान कार्यमा बढी जोड दिएको छ । ढलान भनेको गाउँ टोलका गल्लीमा गर्नुपर्ने हो, त्यो पनि नाला निर्माण गरे तर अधिकांश ठाउँमा नालाबिना बनाएको ढलान सडक न वातावरणमैत्री छ न टिकाउ हुने छ । हचुवाका भरमा बजेट प्रयोग गर्ने उद्देश्यले विकास निर्माण भइरहेकाले यस्ता कार्य रोक्न पालिकाका प्राविधिक टोलीलाई योजना छनोट भएपछि नक्साङ्कन गर्न दिनु अति आवश्यक छ ।

बसबिटा गाउँको समस्या समाधानका लागि वडा कार्यालय सिराहा नगरपालिकासँग समन्वय गरी पानी निकासका लागि प्रयत्नशील रहेको वडाध्यक्ष इन्द्रजित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि पटक पटक सिराहा नगरपालिका बोर्डमा माग गर्दै आइरहेका छौँ ।” बसबिटा गाउँ नै कमला नदीको किनारमा रहेको र पानी निकासका लागि कमलामा बग्ने गरी नाला निर्माण आवश्यक छ । यसका लागि लाग्ने बजेट विनियोजनका लागि नगरप्रमुख नवीनकुमार यादवसमेत गम्भीर भएर यो समस्या समाधान गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वडाध्यक्ष यादवको भनाइ छ ।