• १७ भदौ २०८१, सोमबार

तिज लेखनवृत्ति प्रतियोगितामा सात महिला पत्रकार पुरस्कृत

blog

तीज लेखनवृत्ति प्रतियाेगितामा सात जना महिला पत्रकार पुरस्कृत ।

कमल खत्री

धम्बोझी, भदौ १७ गते । बाँकेमा सात महिला पुरस्कृत भएका छन् । तिजको अवसर पारेर नेपाल प्रेस युनियन बाँकेले महिला पत्रकारहरूलाई लेखनवृत्ति पुरस्कार प्रदान गरेको हो। 

महिला पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘महिला पत्रकार लेखनवृत्ति’ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल लगायतले पुरस्कृत गर्नुभयो ।

महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा सरला सुवेदी प्रथम, सावित्रा विश्वकर्मा दोस्रो र आरती कंटेल तेस्रो हुनुभएको थियो । 

यसैगरी पत्रकार विमला चौधरी, ममता थापा, साहिदा बानो र सिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । लेखनवृत्ती प्रतियोगितामा प्रथम हुने सरलाले ५ हजार रुपियाँ, दोस्रो साबित्राले ३ हजार, तेस्रो हुने २ हजार र सान्त्वना पुरस्कार स्वरूप जनही १ हजार रुपियाँ प्रदान गरिएको थियो ।‘अपाङ्ग महिलाहरूको तिज: चाडको रौनक भन्दा परेको सङ्घर्ष’ शीर्षकको सरला सुवेदीले लेखेको फिचर स्टोरी प्रथम, ‘आर्थिक उन्नतिको सहयात्री बनिरहेका नारी’ शीर्षकमा सावित्री विश्वकर्माले लेखेको फिचर स्टोरी दोस्रो र ‘तीज पर्वको परम्परागत मूल्य र आधुनिक प्रभाव’ शीर्षकमा आरती कंटेलले लेखेको लेख तेस्रो भएको थियो । 

महिलाहरूको महान् पर्व तीजसँग सम्बन्धित विषयवस्तुका बारेमा महिला पत्रकारहरूले फिचर स्टोरी र लेखहरू तयारी पार्नुभएको थियो । महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताको निर्णायकको रूपमा तीन सदस्यीय छनोट समिति निर्माण गरिएको थियो । जसको संयोजकमा नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, सदस्यको रूपमा नेपाल पत्रकार महासङ्घ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशील महिला पत्रकार समूह बाँकेको कार्यवाहक अध्यक्ष सावित्री गिरी रहनुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोनिडया, नेपाली कांग्रेस बाँके सह सचिव रेनु सिंह, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्र, बाँके उपाध्यक्ष करुणा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसीले आफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरूलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, "पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरूलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको सुरुआत गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।"

आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सही समाचार पहिचान गरेर मात्र सम्प्रेषण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताउनुभयो। 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नको लागि गत वर्ष सुरुवात गरिएको कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष निशा शाहले तीजको अवसरमा आयोजना गरिएको लेखनवृत्ती प्रतियोगिताले महिला पत्रकारहरूमा नयाँ उत्साह जगाएको बताउनुभएको थियो ।