• १७ भदौ २०८१, सोमबार

समाचारको ‘डेडलाइन’ अन्त्य गर्ने राससको २४ घण्टा सेवा

blog

सिद्धराज राई  

काठमाडौँ,  भदौ १७ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ मा १० दिनसम्म २४ घण्टा सेवा सञ्चालन गरेको थियो । निर्वाचनका परिणाम अपडेट गरी सेवाग्राहीलाई तत्काल जानकारी दिन छोटो समयका सुरु गरेका थियौँ । यतिबेला सेवाग्राहीबाट राम्रो ‘रेस्पोन्स’ पायौँ । विसं २०८० कात्तिकमा जाजरकोट–रुकुममा भूकम्प गयो । यो भूकम्पले धेरै धनजनको क्षति गरेको छ । यो भूकम्पबाट ठूलो क्षति भएको विषयमा मध्यरातमा नै जानकारी आयो । तर राससको समाचार सेवा बन्द भइसकेकाले समाचार दिन सकेनौँ ।  त्यसबेला राससको सेवा २४ घण्टा भएको भए राति समाचार गइसक्थ्यो । बिहान ६ बजे कुर्न पर्दैनथ्यो । त्यो बेला,राससले ४ बजेपछि सम्पादकहरुलाई झिकाएर समाचार ‘अपडेट’ गर्ने काम गरिएको थियो । रिपोर्टरहरुलाई झिसमिसेमै क्यामरा बोकाएर स्थलगत रिपोर्टिङका लागि खटायौँ तर ढिलो समाचार अपडेट भएको यो घटनाले रासस व्यवस्थापनलाई नमीठो बनायो । 

हरेक वर्ष बाढीपहिरो र सवारी दुघर्टना जस्ता प्राकृतिक विपत्तिका घटनामा रासस पछि परिरहेको अवस्था हो । यस्ता घटनामा विश्वभरिबाट नेपाली मिडियामा चासो बढिरहेको हुन्छ । तर सेवा बन्द भएकाले समयमै समाचार सम्प्रेषण गर्न नसकिएको तीतो यथार्थ र अनुभूति रासस व्यवस्थापन र समाचार सेवामा रहेको छ । त्यस्तै ढिला गरी हुने राजनीतिक सहमति र विशिष्ट व्यक्तिहरुको विदेश भ्रमण र कार्यक्रमका समाचार समेत २४ घण्टा सेवा नभएकै कारणले दिन सकेका थिएनौँ । कुनै घटना र सन्दर्भ विशेषमा मध्यरातमा समाचार छपाउने व्यवस्था गरिदिनु पर्‍याे भन्ने अनुरोधलाई पूरा गर्न नपाएको दर्जनौँ सम्झना रासस व्यवस्थापनसँग छ । विसं २०८० मा नै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन, राप्ती नदीको पुलमा बस दुघर्टनालगायत केही घटनाको ‘कभरेज’ गर्ने प्रयास गरे पनि त्यो तत्कालै हुन सकेको थिएन । यही कारण राससको व्यवस्थापनलाई २४ घण्टा सेवा सञ्चालन गर्नुपर्छ भनेर निरन्तर प्रयास गरेका हौंँ । 

रासससँग तत्काल सेवा सुरु गर्न हामीसँग कुनै स्रोत साधन थिएन र सक्ने अवस्था पनि थिएन र सञ्चालन गर्न सकेनौँ तर रासस व्यवस्थापनले हार मानेन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग हुने प्रत्येक बैठकमा २४ घण्टा सेवाका विषयमा कुरा राख्दै गर्‍याैं । मन्त्रालयका सबै तहतप्काका राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वसँग धेरै पटक औपचारिक र अनौपचारिक छलफल भए । छलफल सकारात्मक बन्दै गयो र अन्ततः हाम्रो प्रयास सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आव २०८१/८२ को बजेटमा २४ घण्टा सेवा सञ्चालनका लागि रु. २५ लाख बजेट विनियोजन गरिदियो । यही बजेटबाट सेवा प्रारम्भ भएको छ । भदौ ११ गतेदेखि नै परीक्षणका रुपमा सेवा सुरुआत भएको सेवा आज भदौ १७ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा भएको छ । 

रासस स्थापना भएको ६३ वर्ष पुगेको छ । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरु भएको रासस अहिले सुविधासम्पन्न बन्दै गएको छ । यस अवधिमा राससले अनेकौँ कालखण्डलाई भोग्दै र त्यसैमा अनुकूलित हुँदै आएको यथार्थलाई भुल्न सकिँदैन । राज्यको आधिकारिक समाचार एजेन्सी भएकाले हरेक दिन सत्यतथ्य र विश्वासिलो समाचार सम्प्रेषण गर्नु राससको  प्रमुख दायित्व हो । यो दायित्वलाई सीमित जनशक्तिको सहयोगमा बलबुताले भ्याएसम्म पूरा गरिरहेको छौंँ भन्ने हाम्रो विश्वास छ । विसं २०४९ मा नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार सेवा, तत्कालीन अवस्थामा १४ वटा अञ्चल कार्यालय र सामान्य प्रशासनको लागि कार्यालय सहयोगी र सवारी चालकसहित स्वीकृत भएको एक सय ६५ वटा कर्मचारी दरबन्दीबाट सेवा सञ्चालन गर्न आफैँमा कठिन रहेको छ तर पनि हामी सेवा क्षेत्र विस्तार गर्न निरन्तर क्रियाशील छौँ । 

थोरै जनशक्ति रहे पनि राससले २०५६ सालदेखि आलेख सेवा २०६४ सालदेखि तस्बिर सेवा, २०६८ सालदेखि रेडियोहरुका लागि अडियो सेवा र २०७९ सालदेखि भिडियो सेवा सुरुआत गरेको छ । भिडियो सेवा सञ्चालनका लागिबाहेक सम्पूर्ण सेवामा राससमा रहेको पुरानो दरबन्दीमा रहेका कर्मचारीहरुलाई तालिम र क्षमता विकास गराएर सेवा सञ्चालन गर्दै आएको यथार्थ रहेको छ । विसंं २०८० माघदेखि सञ्चालन गरेको मातृभाषा समाचार सेवा र आज भदौ १७ गतेदेखि औपचारिक रुपमा सुरुआत गरेको २४ घण्टा समाचार सेवाका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 

मन्त्रालयको यही सहयोगका कारण आज राससलाई चौबिसै घण्टा समाचार सेवा दिने संस्थाका रुपमा स्थापित गर्न सफल भएका छौँ । राससले आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न नेपाली समाचार सेवालाई चौबिसै घण्टा सञ्चालन गरेको हो । मौजुदा जनशक्तिलाई उत्प्रेरित र परिचालन गरेर यो सेवा थालनी भएको छ । भविष्यमा राससको मौजुदा दरबन्दी वृद्धि गरी जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको आवश्यक सहयोगको अपेक्षा छ । हाल दैनिक १७ घण्टा सेवा सञ्चालन गर्दै आएको राससको २४ घण्टा समाचार सेवाले अन्तर्राष्ट्रिय समाचार एजेन्सीको हाराहारीमा रासस उभ्याउन प्रयास भएको छ । यो दिन राससको इतिहासमा एक कालजयी दिनका रुपमा रहनेछ । राससमा एउटा गर्विलो इतिहास निर्माण भएको दिनका रुपमा युगौँयुगसम्म स्मरण रहनेछ ।  

अब नेपाली समाचार सेवा र आमसञ्चारमाध्यममा समाचारको ‘डेडलाइन’ समाप्त भएको हामीलाई लागेको छ । चौबिसै घण्टा समाचार सेवाले अब नेपाली समाचार संस्थाहरुको पनि पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्नुपर्ने अवस्था अन्त्य हुनेछ भन्ने विश्वास हो । साँच्चै भन्ने हो भने चौबिसै घण्टा समाचार सेवाले समाचारको डेडलाइन अब हुँदैन भन्ने मान्यतालाई स्थापित गर्नेछ । त्यसैले यो दिन नेपाली पत्रकारिताको इतिहासमा पनि युगान्तकारी परिवर्तनको दिन हुनेछ । नेपाली पत्रकारिताको इतिहासमा राससको २४ घण्टा समाचार सेवा कोसेढुङ्गा साबित हुनेछ । लोकतन्त्रको सुदृढीकरणका लागि सत्यतथ्य र सही सूचनाको निरन्तर सम्प्रेषण गर्दै आएको राससले राष्ट्र र नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेको छ । हामीले अहिले गरिरहेको काम र प्रयत्नले ती कुरालाई समेट्ने प्रयास गरेका छौँ । 

आज राससले सुरुआत गरेको चौबिसै घण्टा समाचार सेवाले विश्वभर फैलिएका समाचारका पाठक/दर्शक मात्र होइन, नेपाली भाषाका सञ्चारमाध्यमलाई सहयोग पुगेको छ भन्ने विश्वास लिएका छाैं । सूचना प्रविधिको विकासले विश्व धेरै सञ्चार संस्थाको सेवा धेरै पहिलेदेखि २४ घण्टामा गइसकेको छ । नागरिकको व्यस्त जीवनशैलीको कारण समाचारका लागि निश्चित समय कुर्नपर्ने अवस्था हट्दै गएको छ । राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको सूचना र समाचारको पहुँच वृद्धि हुनेछ । सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हामी लागेको छ । यो सेवालाई प्रभावकारी बनाउन सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौंँ । प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हाम्रो प्रतिबद्धता छ । आगमी दिनमा राससको अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, तस्बिर, श्रव्यदृश्य समाचार सेवालाई पनि २४ घण्टा सञ्चालन गर्ने तयारी छ । यसका लागि आवश्यक आर्थिक र जनशक्ति व्यवस्थापनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग आवश्यक छ । 

रासस राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदार हो । हिजो थोरै मिडियाका लागि मात्र अति आवश्यक रासस आज आएर सबै मिडियाका लागि अपरिहार्य जस्तै बनेको छ । जब मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन र सङ्कट आउँछ, त्यतिबेला राससको महत्व उचाइमा पुग्ने गरेको छ । यतिबेला नेपालका मिडियामा आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । त्यसैले रासस मुख्य सहयोगीका रुपमा उभिएको छ र सधैँ उभिइरहनेछ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ) रासस