• १७ भदौ २०८१, सोमबार

औषधीसहित चिकित्सककाे टोली नरैनापुरमा

blog

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नरैनापुर पुगेको टोली अवस्था बुझ्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ १७ गते । झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् । भारतीय सीमाना नजिकको नरैनापुरमा ३ गेगली गाउँमा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको जानकारी आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोली चिकित्सक र औषधी लिएर प्रभावित गाउँमा पुगेको हो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले प्रमुख जिल्ला अधिकारीसहित चिकित्सक र औषधी लिएर आफूहरु गेगली गाउँ पुगेको जनाउँदै अहिले त्यहाँ पखालाका गम्भीर बिरामी नदेखिएको र झाडापखाला वा अन्य के कारणले चार जनाको मृत्यु भएको हो सो बारेमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । अनुसन्धानपछि मात्रै के कारणले मृत्यु भएको वा सर्वसाधारण बिरामी परेका हुन् जानकारी प्राप्त हुने स्वास्थ्य कार्यालयका प्रमुख शाहको भनाइ छ । 

गेगली गाउँमा केहीलाई ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्तो समस्या देखिएकोले चिकित्सकको टोलीले उपचार गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उता, नरैनापुर वडा नम्बर ३ का वडा सदस्य तथा गेगली गाउँको छिमेकी गाउँका बासिन्दा यार मोहम्मद खाँले मृत्यु भएका चारैजनाले पहिले वान्ता गरेको अनि पखाला लागेको र संगसंगै ज्वरो आएर टाउको दुखेपछि मृत्यु भएको बताउनुभयो । 

उहाँले अहिले पनि गाउँका केही मानिसलाई पेट दुख्ने, ज्वरो आउने र टाउको दुख्ने तथा दिसा पातलो हुने समस्या रहेको बताउनुभयो । वडा सदस्य खाँका अनुसार पखाला र वान्ताबाट आइतवार एकै परिवारका तीन जना हरिराम पासीको श्रीमती रुसा पासी, उहाँकी छोरी नन्दनी पासी र मोहनलाल पासीको श्रीमती शान्ति पासी तथा सखावत अलिको छोरा युसुफको मृत्यु भएको थियो । 

पखालाकै कारण गम्भीर बिरामी भएका एक बालकलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएकोमा बालकको स्वास्थ्यमा सुधार आएको र एकजनालाई उपचारका लागि भारत लगिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । 

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले गेगलीमा झाडापखाला फैलिएको भन्ने जानकारी आउनसाथ आफूलगायत स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरेको बताउनुभयो । 

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा वान्ता र पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । वर्षाको बेला फोहोर पानीका कारण पनि उनीहरूलाई समस्या भएको हुनसक्ने जनाइएको छ ।