• १७ भदौ २०८१, सोमबार

गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने

blog

सुनकोशी गाउँपालिका–७ पाङगे्रटार लामोसाँघुस्थित सुनकोशी क्याम्पस । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, भदौ १७ गते ।
सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ । स्नातक अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यार्थी बढाउन गापाले भर्ना, मासिक शुल्कलगायतको शुल्क छात्रवृत्ति स्वरुप व्यहोर्न लागेको हो ।

सुनकोशी गापामा दुई क्याम्पस छन् । वडा नं ७ मा सुनकोशी क्याम्पस र वडा नं १ मा ठोकर्पा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । ती क्याम्पसहरुमा व्यवस्थापन र शिक्षा सङ्काय पढाइ हुन्छ । तर स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको रुचिमा दुवै क्याम्पसमा नपरेपछि क्याम्पस सञ्चालनमा मुस्किल परिरहेको छ ।

विद्यार्थी अभावमा क्याम्पस बन्द गर्नुपर्ने समस्या आउन नदिन गापाले विद्यार्थीको भर्ना, मासिक शुल्क व्यहोर्ने भएको हो । सुनकोशी गापाका सात वडाका विद्यार्थीले मात्रै उक्त सुविधा पाउने छन् ।

आर्थिक वर्षदेखि स्नातक अध्ययन गर्ने विद्यार्थीले भर्ना हुन चाहेमा उक्त सुविधा पाउने छन् । पालिकाभित्रका विद्यार्थीहरु गापाभित्रकै क्याम्पसमा स्नातक अध्ययन गर्न चाहेमा सो गापाले नीति तथा कार्यक्रममा पनि भर्ना, मासिक शुल्क व्यहोरिदिने निर्णय गरेको अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जनाकारी दिनुभयो ।

स्नातकका सबै वर्षहरुमा छात्रवृत्ति स्वरुप भर्ना, मासिक शुल्क सबै व्यहोर्ने निर्णय भएको उहाँले थप्नुभयो । क्याम्पसमा रेगुलर अध्ययन गर्न आउने विद्यार्थीले उक्त सुविधा पाउने छन् भने घरमै बसेर पढ्ने विद्यार्थीले सो सुविधा नपाउने तिमल्सिनाले बताउनुभएको छ ।

स्नातकमा भर्ना, मासिक शुल्क, क्याम्पस सञ्चालनका लागि १५ लाख बजेट छुट्याएको छ । त्यसका लागि गापाले कार्यविधि बनाउने भएको छ । दुवै क्याम्पसहरुले विद्यार्थी तथ्थाङ्क निकाल्दै छन् । स्नातक अध्ययन गर्ने विद्यार्थीलाई उत्पादनमा जोड्ने पनि उसले नीति लिएको छ । गाउँघरका क्याम्पसमा काम, जागिर गर्दे पढ्न सक्ने अवस्था नहुदाँ स्नातकमा विद्यार्थी टिकाउन मुस्किल परेकोले छात्रवृत्ति स्वरुप भर्ना, मासिक शुल्क व्यहोर्ने गापाको उद्देश्य हो । आगामी दिनमा सुनकोशी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

साथै उक्त गापाले कक्षा १ देखि १२ कक्षासम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाएको छ । त्यसका लागि ३० लाख हाराहारीमा बजेट विनियोजन गरिसकेको छ । परीक्षा शुल्क लगायतका शुल्क पनि पालिकाले नै प्रबन्ध गरेको उक्त गापाले जनाएको छ । सुनकोशी क्याम्पसको २४ औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दे गापा अध्यक्ष तिमल्सिनाले उक्त दुवै कुरा बताउनुभएको हो ।