• ११ मंसिर २०८१, मङ्गलबार

अध्यक्ष प्रचण्डद्वारा नेपालगन्ज आइसिपीको अवलोकन

blog

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल–भारत सिमास्थित नेपालगन्ज एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गर्नुहुँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, भदौ १७ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सोमबार बिहान नेपाल भारत सिमास्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गर्नुभएको हो ।

जाँच चौकी अवलोकनका क्रममा भन्सार कार्यालय नेपालगन्जका निमित्त प्रमुख भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्ण लम्सालले जाँच चौकीको अवस्थाका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराउनुभएको थियो ।

निमित्त भन्सार प्रमुख लम्सालले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको भन्दै मालसामान भण्डारण गर्नका लागि व्यस्थित गोदामलगायतका संरचनाले सामानको सुरक्षा तथा छिटो छरितो काम गर्ने वातावरण बनेको जानकारी गराउनुभयो ।


उहाँले आइसिपी सञ्चालन हुनुपुुर्व भन्सार कार्यालयमार्फत् सामान आयातमा एक हप्तासम्म व्यापारीको सामानहरु भण्डारण गरेर राख्नमा शुल्क नलाग्ने गरेको र आइसिपी सञ्चालन भइसकेपछि पछिल्लो समयमा दैनिकरुपमा भण्डारण वापतको शुल्क उद्योगी व्यापारीले इन्टरमोडल विकास समिति अन्तर्गतको ठेकेदार कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था भएपछि विस्तारै केही उद्योगी व्यापारीहरुले यो नाकालाई छाडेर अन्य नाकाबाट सामान आयात गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डसमक्ष यो समस्या सुल्झाउनका लागि आग्रह गर्नुभएको थियो ।

ठूला उद्योगीहरुले पछिल्लो समयमा आइसिपी सञ्चालन नभएका नजिकका कृष्णनगर र धनगढीस्थित भन्सारबाट सामान आयात गर्न लागेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्सार कार्यालयमार्फत् मालसामान आयात गर्दा एकहप्तासम्म शुल्क नलाग्ने व्यवस्था रहेको र आइसिपी सञ्चालन भएपछि ठेकेदार कम्पनीमार्फत् यस्तो शुल्क लाग्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।


पूर्वप्रधानमन्त्री प्रचण्डले एकीकृत जाँच चौकी नेपालगन्जको नयाँ संरचनाको उद्घाटन गर्ने अवसर मिलेको स्मरण गर्दै आज अवलोकन गर्ने अवसर जुरेको बताउनुभयो । उहाँले यो चौकीबाट मालसामान आयात निर्यातको अवस्थाका बारेमा जानकारी पाएको बताउनुभयो । एकीकृत जाँच चौकी सबै ठाउँमा हुनुपर्ने नीतिगत रुपमा आफू क्लीएर भएको बताउदै उहाँले सबै ठाउँमा आइसिपी सञ्चालन भएमा समान व्यवस्था हुने र कुनै समस्या नआउने बताउनुभयो ।

नयाँ बनेर सञ्चालनमा आएका कारण सञ्चालनका क्रममा आएका अलिकति झन्झट र समस्याका बारेमा राजनीतिक लेवलमा कुरा राखेर छलफल गरिने उहाँले बताउनुभयो । नेपाल–भारत सिमास्थित नेपालगन्ज एकीकृत जाँच चौकी (आइसिपी)को गत वर्ष जेठ १८ गते उद्घाटन भएको थियो ।