• १७ भदौ २०८१, सोमबार

‘जनतासँग मुख्यमन्त्री’ फेरि सञ्चालन

blog

मुख्यमन्त्री यामलाल कँडेल

रजनी योगी

सुर्खेत, भदौ १७ गते । कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ । मुख्यमन्त्री र जनताबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेर कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । प्रदेश सरकारको कार्यसम्पादनका सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तर्क्रिया तथा छलफल गर्ने उद्देश्यले नयाँ कार्यक्रमका रूपमा यसलाई अघि सारिएको छ । जनताको माग र समस्याबारे सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेटिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा ३० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयनको अवधारणापत्र निर्माणको चरणमा रहेको मन्त्रालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका शाखा अधिकृत युवराज न्यौपानले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम कार्यान्वयनको कार्यविधि तयार भइरहेको छ । कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन हुने छ । कर्णालीका १० वटै जिल्लामा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिने छ । जनता स्वयम्को प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखी ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा अधिकृत पौडेलले बताउनुभयो । 

‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा यसअघिदेखि नै सञ्चालित ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । पछिल्लो समय उक्त कार्यक्रम प्रभावकारी बन्न थालेपछि थप व्यवस्थित बनाउन लागिएको हो । चालु आवको नीति तथा कार्यक्रममै उक्त कार्यक्रम प्रभावकारी बनाइने जनाइएको छ ।

कार्यक्रमले सेवा प्रवाह र विकास निर्माण सम्बन्धमा जनताको जिज्ञासा, गुनासो र सुझाव प्रत्यक्ष सम्बोधन गर्ने गरेको छ । सरकारले उक्त कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको हो । आव २०७५/७६ मा ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याइए पनि प्रभावकारी हुन नसकेकाले त्यसैलाई परिष्कृत गरेर नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । अहिले उक्त कार्यक्रमलाई पनि व्यवस्थित बनाउन लागिएको छ ।

कार्यक्रमको प्रभाव दूरदराजसम्म पुगेको, सीमान्तकृत, दलित, आदिवासी जनजाति र अल्पसङ्ख्यक समुदायको समस्यालाई सम्बोधन गर्न सफल भएको, गुनासो आउने दरमा वृद्धि भएकाले थप व्यवस्थित बनाउन लागिएको मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारूले बताउनुभयो । उहाँका अनुसार सरकारी सेवासुविधा नपाएको, काम गरेको रकम भुक्तानी नभएको, बजार क्षेत्रका ढल तथा सरसफाइ, मिटरब्याजबाट पीडितको समस्या, विद्यालय, स्वास्थ्य संस्थाको स्तरोन्नतिका सम्बन्धमा बढी गुनासो आउने गरेका छन् । गत आवमा ३८३ वटा गुनासा दर्ता भएका थिए । तिनमा १५६ वटा गुनासा समाधान भएका छन् । स्थानीय पालिका, प्रदेश सरकारलगायत सार्वजनिक चासो र सरोकारका विषयमा गुनासा आउने गरेको गुनासो व्यवस्थापक मीना ज्ञवालीले बताउनुभयो । 

पहिलो कार्यकालमा समेत ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिए पनि प्रभावकारी भएको थिएन । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा कार्यक्रम थालनी भएको थियो तर कार्यक्रम भने प्रभावकारी बन्न सकेन । अहिले सोही कार्यक्रमलाई नयाँ स्वरूपमा सञ्चालन गर्न लागिएको छ । त्यतिबेला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ कार्यक्रम सुरु गर्नुभएको थियो ।