• १६ भदौ २०८१, आइतबार

झाडा पखालाबाट बाँकेमा एकै दिन चारजनाको मृत्यु

blog

नरैनापुरका झाडापखालाका बिरामी एक बालक । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ १६ गते । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ । 

नरैनापुर –३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने चारजनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनु भयो ।

उहाँले हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मृत्यु झाडापाखाकै कारण भएको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले भारतीय  सिमासंग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ आफूलगायत स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको जानकारी गराउनु भयो । 

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताउनुभयो । 

झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष शाहले जानकारी दिनु भयो ।  ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ  छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

यसैगरी, भेरी अस्पतालमा पनि नेपालगन्जका ३ जना झाडापखालाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट  डा प्रकाश थापाले बताउनु भयो ।