• १६ भदौ २०८१, आइतबार

क्रिकेट टोली श्रीलङ्का प्रस्थान

blog

बिदाइ पछि क्रिकेट टोली । तस्बिर : क्यान

काठमाडौँ, भदौ १६ गते । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली आइतबार श्रीलङ्का प्रस्थान गरेको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लिग–२ को अन्तिम तयारी श्रीलङ्कामा गर्न लागेको हो । टोलीलाई आइतबार नै नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले बिदाइ गरे । नेपाली टोलीले भदौ १७ देखि २३ गतेसम्म श्रीलङ्कामा अभ्यास गर्ने क्यानले जनाएको छ । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

श्रीलङ्कामा नेपालले श्रीलङ्का डेभलपमेन्ट टोलीसँग भदौ १८, २० र २२ गते एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ । श्रीलङ्का भ्रमणका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ ।

टोलीमा राेहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ । श्रीलङ्काको अभ्यास पनि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ । 

नेपाली टोलीका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने लगायत केही खेलाडी क्यानडाको भिसा प्रक्रियामा रहेकोले आइतबार टोलीसँग जान नपाएको क्यानले जनाएको छ । उहाँहरू भिसा प्रक्रिया पूरा गरेर श्रीलङ्का जानुहुनेछ । यस्तै टोलीका प्रशिक्षक मोन्टी देसाई भारतमा रहेकाले उतैबाट श्रीलङ्का जाने बताइएको छ । 

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।