• १६ भदौ २०८१, आइतबार

राजनीति गर्दै सिलाइ पेसामा परियार

blog

बबई गाउँपालिका सदस्य नारायण परियार सिलाइको काम गर्दै ।

गोकर्ण पौडेल

तुलसिपुर, भदौ १५ गते । बबई गाउँपालिका सदस्य नारायण परियार राजनीतिसँगै सिलाइ कटाइ पेसा अँगाल्दै आउनुभएको छ । बबई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय परियारले आम्दानीको स्रोतका रूपमा पुर्ख्यौली पेसालाई निरन्तरता दिनुभएको हो । 

२०७८ सालमा  बबई गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएपछि राजनीतिमा जनताकै सेवामा उहाँ जोडिनुभयो । अनेरास्ववियुदेखि राजनीति सुरु गर्नुभएका नारायणले पुर्ख्यौली पेसा भने यथावत् राख्ने बताउनुभयो । 

अङ्ग्रेजी विषयमा शिक्षा शास्त्रमा स्नातक उत्तीर्ण गर्नुभएका परियारले स्थानीय संस्थागत विद्यालयमा पाँच वर्षसम्म अध्यापन गर्नुभएको थियो । वैदेशिक रोजगारीमा तीन वर्ष काम गरी स्वदेश फर्कनुभएका उहाँले २०७७ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । नेकपा (एमाले) बबई गाउँपालिका वडा ४ का वडा कमिटी अध्यक्षसमेत रहनुभएका परियार राजनीतिलाई पेसा भन्दा सेवाको रूपमा आफूले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पाँच वर्ष पढाएँ, तर साँझ–बिहान सिलाइ–कटाइको काम गरेँ । अहिले कार्यपालिका सदस्य एवम् विधायन समितिको संयोजक छु, त्यो पेसालाई यथावत् नै राखेको छु ।” २०६५ सालदेखि सिलाइ–कटाइ सुरु गर्नुभएका नारायणले गाउँमै मोडेल टेलर्स चलाउनुहुन्छ ।