• १६ भदौ २०८१, आइतबार

प्रसारण लाइन निर्माण सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । एमसिसी परियोजना अन्तर्गतको १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न शुक्रबार सम्झौता भएको छ ।  सम्झौताले नेपाल र भारतबिचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको प्रतिबद्धता सुनिश्चित गरेको एमसिए नेपालले जनाएको छ ।  

सम्झौता अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने भएको छ । यो प्रसारण लाइन कुल एक करोड २६ लाख अमेरिकी डलरमा निर्माण गर्ने गरी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता गरिएको हो । 

सम्झौतामा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले यस प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने यो एउटा कोसेढुङ्गा बनेको बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौताले नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउन यसले सेतुको भूमिका खेल्ने औँल्याउनुभयो ।