• १६ भदौ २०८१, आइतबार

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे प्रतिवाद गरिन्छ : अध्यक्ष प्रचण्ड

blog

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

सुर्खेत, भदौ १४ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ ।

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै यस्तो धारणा राख्नुभएको हो ।

उहाँले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्नुहुँदै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुम पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनीभूत गराउने बताउनुभयो ।

अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएको उल्लेख गर्नुहुँदै  उहाँले सच्चिने होइन भने सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताउनुभयो ।

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत कुरालाई चोख्याउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताउनुभयो । भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर गरेको उल्लेख गर्दै उहाँले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको स्पष्ट गर्नुभयो ।

अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘एमालेका साथीहरूले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरूले राम्रोसँग व्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरूलाई सचेत गराउन चाहन्छु ।’’

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको औँल्याउनुहुँदै उहाँले माओवादीको महत्त्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको र पछिल्ला बैठकहरूमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशङ्का अन्त्य गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउनुहुँदै विगतमा विभाजन भएका दलहरूलाई एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिनुभयो ।

‘‘पार्टी फुट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मत खारेज गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘केही मानिसले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्णरुपमा अन्त्य भइसक्नेछ ।’’