• १६ भदौ २०८१, आइतबार

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको नीति अगाडि बढाइने : ह्यारिस

blog

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस । तस्बिर : एएफपी

सवाना (संयुक्त राज्य अमेरिका), भदौ १४ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रवासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ ।

राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान् कानुनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गर्नुभयो ।

उहाँले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो । यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गर्नुभयो । रासस/एएफपी