• १६ भदौ २०८१, आइतबार

चितवनका सबै इँटा उद्योग बन्द

blog

केही वर्ष अगाडि पूर्वी चितवनमा सञ्चालित इँटा उद्योग र अहिले सबै उद्योग बन्द भएका छन् । तस्बिर: शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, भदौ १४ गते । तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । 

सात वटा उद्योग सञ्चालनमा रहेकोमा उत्पादित इँटा बजारमा बिक्री गर्न कठिन भएपछि उद्योग नै बन्द भएको हो । एक वर्षदेखि चितवनमा कुनै पनि इँटा उद्योग सञ्चालनमा रहेका छैनन् । यहाँका उद्योगले उत्पादन गरेको इँटा समेत बिक्री गर्न नसकेर बन्द भएका उद्योगमा नै थन्किएको छ । 

गुणस्तर भन्दा सस्तो सामग्री लिने ग्राहकको सख्या बढेपछि बिक्री गर्न समस्या हुँदा सबै उद्योग बन्द भएको  चितवन इट्टा उद्योग सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । एक वर्ष अगाडिदेखि कुनै पनि उद्योग सञ्चालनमा छैनन् उहाँले भन्नुभयो ‘अब चल्ने अवस्था पनि छैन ।’ 

कोभिडको समयमा सङ्क्रमणले असर पार्ने भन्दै एक वर्ष बन्द भयो उहाँले भन्नुभयो ‘त्यो समयमा जिल्लामा १८ वटा इँटा उद्योग थिए । त्यसपछि उद्योगको सख्या घट्दै गयो । ’ २०७९ सम्म जिल्लामा सात वटा उद्योग सञ्चालनमा थिए । २०८० साल लागेपछि जिल्लामा कुनै पनि उद्योग सञ्चालनमा छैन अध्यक्ष सापकोटाले भन्नुभयो । ३० वर्ष अगाडि जिल्लामा ४४ वटा उद्योग सञ्चालनमा थिए अहिले इँटा उद्योगविहीन जिल्ला भएको छ । 

जिल्लामा उद्योग बन्द हुने कारणहरू धेरै भएको उद्योगीहरूले बताएका छन्  । उद्योगको लागि जग्गा भाडामा पाउन नसक्नु, पाए पनि कच्चा सामग्री माटो पाउन मुस्किल, महँगोमा माटो खरिद गरेर ल्याउँदा लागत वृद्धि हुँदै जाने समस्या छ । लागत अनुसारको मूल्य राख्दा तराईबाट आएको इँटासँग प्रतिस्पर्धा गर्न नसक्नु अर्को समस्या भएको अध्यक्ष सापकोटाले बताउनुभयो । 

अहिले प्रतिगोटा १३ रुपियाँमा तराइको बारा, रौतहट, सर्लाहीबाट चितवनमा इँटा आउने गरेको छ । चितवनका उद्योगले प्रतिगोटा १४ देखि १५ रुपियाँमा बिक्री गर्दै आएका छन् । चितवनमा उत्पादन हुँदै आएको इँटा नवलपरासी, गोरखा, कास्की, म्याग्दीलगायतको जिल्लामा जाने गरेको थियो । तराईका जिल्लाबाट आएको इँटा मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, काठमाडौँ, कास्की, गोरखा, बागलुङ, पर्वत, नुवाकोट, दोलखा, सिन्धुलीलगायतको जिल्लामा जाने गरेको छ । 

जिल्लामा इँटा उद्योग बन्द हुँदा त्यसमा आश्रित प्रत्यक्ष अप्रत्यक्ष १० हजारको रोजगारी गुमेको जिल्ला अध्यक्ष सापकोटाले बताउनुभयो । उद्योगमा लगानी भएको करोडौँ रुपियाँ डुबेको छ । उत्पादित सामग्री सस्तोमा दिनुपर्ने, बिक्री भएको सामग्रीको रकम नउठ्ने समस्या भएको उहाँले जानकारी दिनुभयो । धराशायी भएपछि बन्द गर्न बाध्य भएका छौ उहाँले भन्नुभयो इँटा उद्योगमा लगानी गरेर बन्द गरेका उद्योगीहरूले अहिले कुनै क्षेत्रमा लगानी गर्न सकेका छैनन् । लगानी गर्न अवस्था नभएपछि पलायनको अवस्थामा पुगेका छौ अध्यक्ष सापकोटाले भन्नुभयो । 

निरन्तर घाटा लाग्दै जाने, उत्पादित सामग्री बिक्री गर्न समस्या भएपछि लगानी फिर्ता लिएर उद्योगबाट टाढा भएको उद्योगी ईश्वरीराज पण्डितले बताउनुभयो । तराइका उत्पादनले यहाँको बजार लिएको छ, हाम्रो उत्पादनमा लगानी धेरै हुन्छ, तराइमा माटो सस्तो पाउने भएकाले लगानी कम हुन्छ त्यसैले चलाउन सकेनौ पण्डितले भन्नुभयो । बन्द उद्योग सञ्चालनको वातावरण बनाउन सरकारले कुनै पहल नगरेको व्यवसायीको भनाइ रहेको छ । इँटाको विकल्पमा युपिभिसी, ब्लक, प्यानल बाेर्लडगायत विभिन्न सामग्री बजारमा आएपछि इँटाको बजार लिएको छ ।