• १६ भदौ २०८१, आइतबार

पर्यटन प्रवर्धनका सात सूत्र

blog

नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा पर्यापर्यटनको महत्वपूर्ण सम्भावना छ । नेपालको भूबनोट, जलवायुको प्रभाव, सामाजिक तथा सांस्कृतिक वैभवता तथा विविधता, पारिस्थितिकीय र जैविक विविधताको प्रचुरता र प्राकृतिक रमणीयता तथा सुन्दरता जस्ता पक्षहरूले नेपालको पर्यापर्यटन व्यवसायको प्रवर्धन, विकास र विस्तारमा अतुलनीय सम्भावना प्रदान गरेका छन् । 

धार्मिक मनोकाङ्क्षा पूरा गर्ने प्रयोजनार्थको तीर्थाटन होस्, वैज्ञानिक खोज तथा अनुसन्धानका लागि गरिने अध्ययन–अनुसन्धान होस्, फुर्सदिलो समयमा रमाउन होस्, योग साधनाका लागि चाहिने शान्त परिवेशको खोजीमा होस्, नेपाली जनजीवनबारे जान्ने जिज्ञासा मेटाउन होस् वा कुनै खास उद्देश्यबिन नै घुम्ने प्रयोजनका लागि होस्, नेपालको भूमि विश्वका धेरै नागरिकको भ्रमण गर्ने सूचीको अग्र भागमा नै पर्छ । नेपालको समग्र विकासका लागि पर्यापर्यटन क्षेत्र तुलनात्मक लाभको महत्वपूर्ण क्षेत्र हो । साधारण अर्थमा भन्दा पर्यापर्यटनले वातावरण संरक्षण र सुधारसहितको ध्येय राखेर प्राकृतिक क्षेत्रहरूमा गरिने जिम्मेवार यात्रा हो भन्ने बुझिन्छ । यस्तो यात्राले स्थानीय जनताको कल्याण र जीविकोपार्जन सुधारमा योगदान दिने प्रयत्न गर्छ ।

नेपालको पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्धनका लागि प्रभावकारी रणनीतिहरूको तर्जुमा र सोको कार्यान्वयन गर्न सक्नु पर्छ । विश्वमै नेपालको राजनीतिक रूपान्तरण तीव्रताका साथ भएको देखिन्छ तर आर्थिक तथा सामाजिक परिवर्तनको गति भने धीमा देखिन्छ । यसो हुँदा आर्थिक तथा सामाजिक परिवर्तनका क्षेत्रमा नेपालले प्रभावकारी नीति, योजना, रणनीति र कार्यक्रम तयार गरी तिनीहरूको उपलब्धिपूर्ण कार्यान्वयन गर्न अब ढिला गर्नु हुन्न । 

मुलुकको भ्रमणमा जुनसुकै उद्देश्य लिएर आउने यात्रीलाई हृदयदेखि ‘स्वागत’ गर्ने रणनीति हामीले अवलम्बन गर्नु पर्छ । नेपाल आउनेबित्तिकै पाहुनाले आफ्नो घर वरिपरि नै घुम्दै छु, हेर्दै छु र अध्ययन–अवलोकन गर्दै छु भन्ने भाव उनीहरूमा आउने ढङ्गले हामी प्रस्तुत हुन जरुरी छ । त्यसो हुँदा गन्तव्यस्थल प्रवेश गर्ने स्थलमा स्वागत ब्यानरहरू राख्ने र त्यहाँ रहने प्रत्येक नेपालीले पाहुनालाई मुस्कानसहित सहृदयतापूर्वक स्वागत गर्न तत्पर रहनु पर्छ । यस क्षेत्रमा लागेका हरेक व्यक्ति प्रशिक्षित हुन अत्यन्त आवश्यक छ । सम्बद्ध सरोकार राख्ने पक्षले यसमा गम्भीरतापूर्वक ध्यान दिनु पर्छ । पर्यटकले नेपाल घुमेर फर्कंदा यहाँका के के कुरा मन प¥यो त भनेर विचार गर्दा अन्य कुराको अतिरिक्त नेपालीको व्यवहारले मन छोयो भन्ने सन्देश पनि लएर जान सकून् । यो नै पर्यटकको सङ्ख्या अभिवृद्धि गराउने प्रथम रणनीति हो ।

अर्को कुरा कुनै खास उद्देश्य लिएर घुम्न आउने यात्रीले सो अनुसारको सूचनाको माग राख्छन् । सही समयमा चाहिएबमोजिमको जानकारी तथा ‘सूचना र सञ्चार’ को व्यवस्थापन पर्यटन प्रवर्धनको महत्वपूर्ण पाटो हो । यस्ता सूचना विविध प्रकारका हुन्छन् । सुत्ने होटल, खानेकुरा, तोकिएको ठाउँमा पुग्ने बाटो, यातायातको साधन, लाग्ने खर्च, स्थानीय मौसमको अनुकूलता–प्रतिकूलतालगायत गन्तव्य स्थलमा रहेका दर्शनीय, अवलोकनीय वस्तुको यथार्थपरक सूचनाको माग घुम्न आउनेले राख्छन् । यी त केही उदाहरण मात्र हुन् । अनेक खालका सूचनाको अभिलेखीकरण, प्रचारपसार र प्रदर्शनको आवश्यकता रहन्छ । नयाँ ठाउँमा घुम्न आउने यायावरले जाने ठाउँबारे अधिकांश ज्ञान राखेर नै घुम्न आउँछन् । त्यसैले पर्यापर्यटनको विकास, विस्तार र प्रवर्धनमा सूचना व्यवस्थापन पनि एउटा महत्वपूर्ण पक्ष हो । दुःखको कुरो नेपालको सूचना व्यवस्थापनको पाटो भने कमजोर नै देखिन्छ । पर्यटकीय क्षेत्रमा सही सूचना व्यवस्थापन गरी सोको अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी प्रचारप्रसार गर्न सक्नु पर्छ । स्वदेशको सञ्चार प्रणाली पनि भरपर्दो र विश्वसनीय हुनु पर्छ । तीव्र गतिमा चल्ने इन्टरनेट सुविधा हुन सके आगन्तुकहरूले प्राप्त गर्न खोजेको तथ्य र जानकारी समय पाउँछन्, लाभान्वित हुन्छन् र नेपालप्रति सद्भाव पनि बढेर जान्छ । 

पर्यटन व्यवसायको प्रवर्धनमा ‘सरसफाइ’ को ठुलो महत्व हुन्छ । घुम्ने स्थल दुर्गन्धित, फोहोरयुक्त र प्रतिकूल वातावरण भएमा कोही पनि आउँदैनन् । त्यसैले हामीले हाम्रा प्रत्येक सार्वजनिक स्थल प्रदूषणरहित तुल्याउनु आवश्यक छ । ऐतिहासिक, धार्मिक, पुरातात्त्विक जस्ता पर्यटकीय स्थल स्वच्छ र सफा बनाउनु पर्छ । त्यसो त हाम्रा प्रत्येक ठाउँ सफा हुनु पर्छ ।

साहसिक पर्यटकको रूपमा कतिपय व्यक्ति जलविहार गर्न आउँछन् । त्यसैले हाम्रा नदीहरू कञ्चन रूपमा स्वच्छ भएर बगेका हुनु अति आवश्यक छ । कतिपय पर्यटक योग साधना र धार्मिक यात्रामा आएका हुन्छन् । तिनले घुम्न जाने स्थल पनि सफासुग्घर हुनु नितान्त जरुरी छ । सरसफाइ मानव सभ्यताको एउटा प्रमुख परिचायक भएको हुनाले पर्यटकीय स्थल पनि सोही अनुरूप सफा, सुग्घर र सुन्दर हुनु अति आवश्यक छ ।

पर्यटन प्रवर्धनका लागि अर्को महत्वपूर्ण पाटो भनेको हाम्रो ‘संस्कृति’ एकदमै अपरिहार्य पक्ष हो । नेपाली कला, कौशल र संस्कृतिले नै आगन्तुकलाई आकर्षण गरिरहेका हुन्छन् । प्रकृति, संस्कृति र मनोरञ्जन यायावरका प्रमुख आकर्षणका क्षेत्र हुन । यी क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा मुलुकले खास ध्यान दिनु पर्छ । घुम्न आउने पर्यटकलाई हाम्रो मौलिक संस्कृति, कला र सभ्यताको पूर्ण जानकारी दिने हिसाबले सूचना सम्प्रेषण गर्नु पर्छ । यसका निमित्त प्रचारप्रसारका सही सामग्रीको उत्पादन र वितरणको चाँजोपाँजो मिलाउनु पर्छ । नेपाली कला र संस्कृति झल्कने विभिन्न डिस्प्ले बोर्डको निर्माण र स्थापना, विभिन्न वृत्तचित्रको निर्माण गरी सोको प्रदर्शनीको प्रभावकारी व्यवस्था मिलाउनु पर्छ । 

नेपाल घुम्न आउनेले फर्केर जाँदा नेपालकै स्वदेशी सामान उपहार स्वरूप लाने गर्छन् । यस्ता सामान उत्पादन गर्दा हाम्रो आफ्नो स्वदेशीपन र संस्कृति झल्किने खालको हुनु पर्छ । यसो भएको खण्डमा मात्र नेपाली सभ्यताको संसारभर प्रचारप्रसार भई बाह्य पर्यटक नेपालप्रति आकर्षित हुन्छन् र नेपालको पर्यटन व्यवसाय पनि मौलाउने अवस्था आउँछ । ‘सुविधा’ र ‘सजिलो’ पनि पर्यटन क्षेत्र प्रवर्धनका महìवपूर्ण पक्ष हो । जाने ठाउँमा सजिलै पुग्न सकिँदैन र पुगे पनि त्यहाँ आधारभूत कुराको अभावले यात्रा कठिन हुन्छ भने कोही पनि सो क्षेत्रमा घुम्न जाँदैन । पर्यटकीय क्षेत्रमा जाने यात्रीलाई कुनै प्रकारको दुःख कष्ट नहोस् भन्ने कुरालाई ध्यान दिएर सुविधाको व्यवस्थापन हुनु पर्छ । घुम्न जाने स्थलमा राम्रा होटलको अभावमा रातिको बास बस्न सकिँदैन । खानाको राम्रो प्रबन्ध नै छैन भने सो ठाउँमा कोही पनि घुम्न जाँदैन । महत्वपूर्ण क्षेत्र त हो तर त्यहाँ पुग्न अत्यन्त कठिन छ र जीवन नै जोखिममा पर्छ भने त्यस्ता ठाउँमा घुम्न जाने पनि बिरलै हुन्छन् । त्यसैले पर्यटन व्यवसायको विकास, विस्तार र उन्नतिका लागि सुविधाको उपलब्धता पनि एउटा महत्वपूर्ण पक्ष हो ।

मुलुकभित्रको ‘सुरक्षा’ व्यवस्थापन पनि पर्यटन व्यवसायको महत्वपूर्ण पाटो हो । सधैँ अशान्त हुने, आमहड्ताल भइरहने, चोरी डकैतीको बिगबिगी हुने र जिउज्यानकै जोखिम हुने देशमा पर्यटक घुम्न जाँदैनन् । त्यसैले सुरक्षा प्रबन्ध पनि चुस्त र दुरुस्त अवस्थामा राख्नु पर्छ । खराब तत्व जुनसुकै पनि मुलुकमा हुन्छन् तर तिनको नियन्त्रण मुलुकभित्रको सुरक्षा प्रणालीको प्रभावकारिताबाटै सम्भव हुन्छ । गन्तव्य मुलुक शान्त र सुरक्षित छ भनेर ढुक्क नभएसम्म पर्यटक आउँदैनन् । 

पर्यटन व्यवसायको अर्को नभई नहुने पाटो भनेको ‘सडक सञ्जाल र यातायात प्रणाली’ को सुविधा र विश्वसनीयता हो । सवारी आवागमनमा कुनै पनि प्रकारको कठिनाइ नहुने ढङ्गले विकास र विस्तार भएको सडक यातायात, भरपर्दा सवारीका साधन, सस्तो र सर्वसुलभ यातायात प्रणली भएमा आगन्तुक घुम्नका लागि आकर्षित हुन्छन् । तोकिएको खर्च र समय लिएर घुम्न आउनेका लागि सर्वसुलभ र व्यवस्थित यातायात प्रणाली महत्वपूर्ण पक्ष हो । तोकिएको ठाउँमा जान थोत्रा सवारीसाधन र भत्किएको कच्ची बाटो या खाल्डाखुल्डी भएको सडकमा दुःख गरेर घुम्न को आउँछ र ! त्यसैले यातायात प्रणालीको प्रभावकारी व्यवस्थापन पनि पर्यटन प्रवर्धनको महत्वपूर्ण अङ्ग हो ।

नेपालको पर्यटन प्रवर्धनमा उल्लेखित ‘स’ अक्षरबाट आरम्भित सात सूत्रीय रणनीतिको महìवपूर्ण भूमिका छ । उल्लिखित रणनीति पर्टयन क्षेत्रका आधारभूत विषय हुन् । यी रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रमा आमूल रूपान्तरण हुन सक्छ । पर्यटन क्षेत्रको विकासबाटै नेपालले आर्थिक उन्नति हासिल गर्न सक्छ । यो तुलनात्मक लाभको क्षेत्र रहेकाले सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारले कार्यक्रम र बजेटको व्यवस्था गरी उल्लिखित रणनीति अवलम्बन गर्न जरुरी छ । 

Author

यज्ञनाथ दाहाल