• १६ भदौ २०८१, आइतबार

म्याग्दीमा तीन सय झोलुङ्गे पुल निर्माण

blog

फाइल तस्बिर ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १३ गते । हिमाली जिल्ला म्याग्दीमा रहेका साना ठुला खोला तर्नका लागि झण्डै तीन सय झोलुङ्गे पुल निर्माण भएका छन् । नजिकैको दूरीमा पुग्नै पनि लामो यात्रा तय गर्न बाध्यता पर्ने म्याग्देलीहरु झोलुङ्गे पुल निर्माण भएसँगै सहज रुपमा यात्रा गर्न पाएका छन् । 

म्याग्दीमा हाल दुई सय ९१ वटा पुल निर्माण भएर चालु अवस्थामा छन् । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा सात वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएका छन् । म्याग्दी जिल्लाभित्रका स्थानीय तहले छ वटा र गण्डकी प्रदेश सरकारले एउटा झोलुङ्गे पुल निर्माण गरेको हो । 

झोलुङ्गे पुल निर्माण भएपछि खोलाहरुमा जोखिमपूर्ण तवरले हिँड्नुपर्ने तथा घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता समेत हटेको अन्नपुर्ण गाउँपालिका–२ दानाका श्याम रानाले बताउनुभयो । यात्रा गर्ने दूरी पुलले छोट्याएपछि यात्राको दूरी पनि छोटिएको उहाँको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि पदयात्रा गर्न तथा स्थानीयवासी एवम् विद्यार्थीलाई आवातजावतमा निकै सहज भएको उहाँले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालय म्याग्दीले उत्तरी म्याग्दीको भुरुङतातोपानीदेखि पाउद्वार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जीव उज्वल जेभीबीच २०८० साउन महिनामा पुल निर्माणका लागि ९३ लाख ५० हजार चार सय ८६ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

म्याग्दीमा लामो समयदेखि झोलुङ्गे पुलको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था मिलन म्याग्दीकी अध्यक्ष दिलमाया बिटालुका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदायसँगको साझेदारीमा थप तीन वटा पुलहरु निर्माणाधीन छन् । म्याग्दीमा झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग हामीले गर्दै आएका छौं–स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका अध्यक्ष बिटालुले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष निर्माण सकिएका र निर्माणाधीन गरी ९ वटा पुलबाट दुई हजार ३४ घरधुरीका नौ हजार आठ सय ८२ जनसङ्ख्या लाभान्वित हुन्छन् । गत वर्षको अवास्था हेर्ने हो भने म्याग्दी जिल्लाभित्र कुल चार करोड रुपियाँभन्दा बढी लागत अनुमान गरिएको पुल निर्माण आयोजनामार्फत १७ हजार छ सयभन्दा बढी कार्यदिन रोजगारी सिर्जना भएको थियो ।

जिल्लाको उत्तरी भेकमा पर्ने अन्नपूर्ण गाउँपालिका र पश्चिम भेकमा पर्ने धवलागिरी गाउँपालिकामा दुई÷दुई वटा तथा मङ्गला गाउँपालिका र मालिका गाउँपालिकामा एक÷एक वटा झोलुङ्गे पुल निर्माण सकिएको मिलन म्याग्दीले जनाएको छ । त्यस्तै गत जेठमै निर्माण सकिनुपर्ने बेनी मङ्गलाघाटको पुल निर्माण सम्पन्न हुन सकेको छैन भने मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकामा पनि एकएक वटा पुल निर्माण भएर सञ्चालनमा आउने अन्तिम चरणमा छ ।

मालिका गाउँपालिकाको पतेरनीखोलामा ३२ लाख ६५ हजार दुई सय ८५ रुपियाँमा निर्माण भएको एक सय १४ मिटर लामो झोलुङ्गे पुलबाट एक सय आठ घरघुरीका पाँच सय ५५ जना लाभान्वित भएका छन् । त्यस्तै मङ्गला गाउँपालिका–५ मा म्याग्दी खोलामा २८ लाख ५५ हजार सात सय ३७ रुपियाँ खर्चमा निर्माण भएको ७३ मिटर लामो पुलबाट एक सय ८५ घरधुरीका आठ सय ७५ जना लाभान्वित भएका छन् ।

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दोविल्लाख खोलामा निर्माण भएको ६० मिटर लामो पुलबाट एक सय ४३ घरधुरीका पाँच सय ५१ लाभान्वित भएका छन् । उक्त पुल निर्माण गर्न १७ लाख ३१ हजार रुपियाँ खर्च भएको थियो । त्यस्तै ठूलोखोलामा २९ लाख ४८ हजार नौ सय ३० रुपियाँ लागतमा निर्माण भएको ६४ मिटर लम्बाइको झोलुङ्गे पुलबाट एक सय पाँच घरका पाँच सय ७५ जनाले प्रत्यक्ष लाभ लिएको मिलन म्याग्दीकी अध्यक्ष बिटालुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ हाँडेभिरस्थित ३० लाख ६१ हजार एक सय १० रुपियाँ लागतमा म्याग्दी खोलामाथि निर्माण भएको झोलुङ्गे पुलले दुई सय ७४ धरधुरीका एक हजार दुई सय ३१ जनालाई प्रत्यक्ष लाभ दिएको छ । त्यसैगरी धवलागिरी गाउँपालिका–४ का खोलाखर्कमा निर्माण भएको एक सय १२ मिटर लामो झोलुङ्गे पुलले त्यस क्षेत्रका एक सय ७० घरधुरीका आठ सय ५० जनसङ्ख्याले प्रत्यक्ष फाइदा लिएका छन् ।

बेनी नगरपालिका–७ मंगलाघाटस्थित म्याग्दी नदीमा स्तरोन्नतिका क्रममा रहेको ४६ मिटर लामो पुल, रघुगङ्गा गाउँपालिका–८ कसेरनी खोलामा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुने पर्खाइमा छन् ।