• १३ भदौ २०८१, बिहिबार

पहिरोले विद्युतका पोल ढाल्दा आठ सय घरधुरी अन्धकारमा

blog

जलजला ७ स्थित केराबारीको पहिरो । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ १३ गते ।
पर्वतको जलजला गाउँपालिका ७ स्थित केराबारीको पहिरोले विद्युतको पोल ढल्दा आठ सय घरधुरीमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार खसेको पहिरोले प्रसारण लाइनको तीन वटा पोल र तारमा क्षति पुर्‍याएको थियो । 

पहिरो स्थल बेनी–मालढुङ्गा सडकअन्तर्गत पर्दछ । सडक माथिबाट खसेको पहिरोले सडक छेउमा रहेका विद्युतका पोल र तारमा क्षति पुगेको हो ।  पहिरोका कारण सडक पनि अवरुद्ध हुँदै आएको छ । 

विद्युत सेवा अवरुद्ध भएपछि जलजलाको ७ बास्कोट, फोक्सीङ, ८ नम्बर वडाको लस्ती, फर्से दह बागलुङको ढोडेनी र म्याग्दीको बेनी नगरपालिका १ बेलबोटको वस्ती दुई दिनदेखि अन्धकारमय भएको जलजला गाउँपालिका ८ का वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

‘‘केराबारीमा खसेको भिषण पहिरोले विद्युत लाइनको तीन वटा पोल र तारमा क्षति पुगेपछि वस्तीहरु दुई दिनदेखि अन्धकारमय भएका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा दुईवटा वडाका सर्वसाधारणहरु गाउँपालिकाको सेवा लिन बागलुङ हुँदै बेनी पुगेर जानुपर्ने बाध्यता छ ।’’

विद्युत सेवा अवरुद्ध हुँदा डेरी उद्योग, क्रसर उद्योग, फर्निचर लगायतका उद्योगहरु प्रभावित भएको उहाँले बताउनुभयो । क्षति पुगेको प्रसारण लाइनको मर्मतका लागि नेपाल विद्युत प्राधिकरण पर्वतको टोली पहिरोस्थलमा आइपुगेपनि मर्मत गरेर विद्युत सेवा सुचारु गराउन समय लाग्ने उहाँको भनाइ छ ।