• १३ भदौ २०८१, बिहिबार

सिङ्गा तातोपानी कुण्डलाई व्यवस्थित र सौन्दर्यकरण गरिँदै

blog

मौलिकता झल्कने पूर्वाधार निर्माण गरेर चिटिक्क पारिदै सिङ्गा तातोपानी कुण्ड । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ १३ गते ।
प्राकतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्डमा पर्यटकलाई आकर्षित गर्न व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको छ ।

कुण्डको आन्तरिक आम्दानी, विभिन्न संघसंस्थाको सहयोग र गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको बजेट खर्चिएर कुण्डलाई व्यवस्थित आकर्षण र सुन्दर बनाउन पूर्वाधार निर्माण थालिएको हो ।

कुण्ड परिसरको वातावरणलाई रमणीयका साथै आकर्षक बनाउन भौतिक संरचनालाई मौलिक र वरपर बगैँचा बनाएर आकर्षक बनाउन थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

तातोपानी कुण्डमा बिरामी र पर्यटकहरुलाई मनोरम वातावरणमा स्नान गर्ने व्यवस्था मिलाउनका लागि सौन्दर्यकरण गरिन लागिएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको १५ लाख र पाँच लाख रुपियाँ कुण्डको आन्तरिक आम्दानी गरेर २० लाख रुपियाँमा भक्तपुरे इँट्टा प्रयोग गरेर  कलात्मक शैलीमा मुख्य प्रवेशद्वार निर्माण गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो । 


कुण्डमा स्नान तथा अवलोकनका लागि आएका पर्यटकहरुलाई न्यानो स्वागत सत्कार, मनोरम वातावरण र पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजना रहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार अर्को मिनी कुण्ड (बाथ टप) प्रवेशद्वार पनि भक्तपुरे इँट्टा प्रयोग गरेर निर्माण गरिएको छ । मौलिकता झल्कने प्रवेशद्वार र तातोपानी कुण्ड लेखेको बोर्ड पर्यटकका लागि आकर्षक भएको उहाँको भनाइ छ ।

कुण्डलाई मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षणको स्थल बनाउँदै लैजाने समितिको योजना अनुसार पूर्वाधार निर्माणलाई जोड दिइएको अध्यक्ष खड्काको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘प्राकृतिक उपचार स्थलका साथै तातोपानी कुण्डलाई राउन्ड धौलागिरी र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि मनोरञ्जन स्थलका पनि विकास गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य छ ।’’ बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ ।

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहित स्तम्भ निर्माण गरेको थियो । म्याग्दी नदीको किनारबाट प्राकृतिक रूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नानसहितको उपचार र अवलोकनका लागि तातोपानीमा पर्यटकहरु आउने गर्दछन् । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको भएर फर्किएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।


मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रहरुको भ्रमण गरेपछि तातोपानीमा डुबुल्की मारेर आनन्दको अनुभूति लिन पर्यटकहरु तातोपानीमा आउने गर्दछन् । प्राकृतिक तातोपानी कुण्डमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोग निको हुने भएकाले पनि पर्यटकहरु कुण्डमा स्नानका लागि आउने गरेको कुण्ड व्यवस्थापन समितिका केसीले बताउनुभयो ।

मुख्य कुण्डमा सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० रुपियाँ शुल्क तोकिएको छ । मिनी कुण्डमा एकपटकका लागि प्रतिव्यक्ति एकसय रुपियाँ निर्धारण गरिएको छ । प्रवेश शुल्क वापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका पाँच निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको छ ।

गत आर्थिक वर्षमा विरामी र पर्यटकहरु गरेर ३० देखि ३५ हजार सम्मले कुण्डमा स्नान र अवलोकन गरेको कुण्डका कर्मचारी रेशम कार्कीले बताउनुभयो । सरकारी निकाय र चन्दा सहयोग तथा प्रवेश शुल्कबाट सङ्कलन भएको कुण्डको आन्तरिक आम्दानी गरेर अहिलेसम्म कुण्डमा करिब दश करोड बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको छ ।