• ११ पुस २०८१, बिहिबार

मापदण्डबमोजिम बजेट दिनु पर्छ

blog

नेपालको करिब मध्यभागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका ५९७ वर्गमिटरमा फैलिएको छ । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र समेटिएको यो पालिकामा साबिकका सात गाविस (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) समेटिएका छन् । नौ वडा रहेको यस पालिकाको जनसङ्ख्या साढे २३ हजार छ । पालिकाको पूर्वमा दोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिका, दक्षिणमा बेँसीसहर नगरपालिका र उत्तरमा मनाङ जिल्ला पर्छन् । गएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट अर्जुन गुरुङ दोस्रो पटक चुनिनुभएको थियो । अध्यक्ष गुरुङसँग पालिका प्रमुखको अनुभव, पालिकाका समस्या र सम्भावनाबारे गोरखापत्रका लागि फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :

पालिका प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएपछि कस्तो अनुभव गर्नुभएको छ ?

हामीले पहिलो कार्यकालमा अपेक्षाकृत नतिजा निकाल्न सकेनौँ । त्यस समयमा ऐन, कानुनको अभाव, कर्मचारीको अभावदेखि कोभिड महामारीसम्मले हामीलाई बाधा पारे । त्यसका बाबजुद हामीले अघिल्लो कार्यकालमा कार्यालय व्यवस्थापन, वडा कार्यालयहरू निर्माण, स्वास्थ्य चौकी निर्माण गर्‍यौँ । पूर्वाधारको क्षेत्रमा खानेपानी, बिजुली, सडकमा सुधार गर्‍यौँ । दोस्रो कार्यकालमा हामी उत्साह र ऊर्जाका साथ योजनाबद्ध रूपमा काममा लागेका छौँ । पूर्वाधार निर्माणमा केन्द्रित हुँदै जनप्रतिनिधि र कर्मचारीलाई क्षमतावान् बनाउँदै अघि बढेका छौँ । पालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा छ, १० शय्याको अस्पताल पनि तयार हुँदै छ । पहिलो कार्यकालमा आरम्भ भएका कामलाई पूर्णता दिन पनि लागेका छौँ । 

पालिकाले सामाजिक विकासमा बढी र आर्थिक विकासमा थोरै बजेट खर्च गरेको देखियो नि ?

हाम्रो विकास, निर्माण सङ्घ र प्रदेश सरकारको पनि दायित्व हो । अत्यावश्यक काम हामीले गर्ने हो । सामाजिक विकासको पाटो हरविकासका लागि एकदमै महत्त्वपूर्ण हुने रहेछ । हाम्रो पालिकाका विद्यालयमा झन्डै चार हजार बालबालिका छन् । ती बालबालिकालाई गुणस्तरीय शिक्षाको प्रत्याभूति नगरी समृद्धिको कुरा सोच्नै सकिन्नँ । सामाजिक विकास अन्तर्गत हामीले शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्ने खालका कार्यक्रम चलाएका छौँ । पूर्वाधारको विकासले सर्वाङ्गीण क्षेत्रको विकासलाई समेट्न सक्दैन जस्तो लाग्छ । दैनिक जीवनसँग सरोकार राख्ने क्षेत्रलाई छाड्न मिल्दैन । थोरै आन्तरिक आम्दानी हुने पालिकाले पूर्वाधारका ठुला काम गर्न पनि सम्भव हुँदैन । त्यसैले सम्पन्न्न सम्भव हुने क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । 

प्रदेश र सङ्घ सरकारबाट कस्तो सहयोग र समन्वय छ ?

नेपालको संविधानको भावना अनुसार हेर्ने हो भने पालिका जनताको पहिलो सरकार हो । पालिकाहरूलाई अझै जनशक्ति, बजेट, अधिकारमा मजबुत बनाउन सकिएको छैन । पूर्वाधार क्षेत्रमा प्रदेश र सङ्घको बजेट बढ्नुपर्नेमा घट्दै गएको देखिन्छ । पालिकाहरूले त जनतालाई दैनिक रूपमा चाहिने विकास, निर्माण, सेवामा काम गर्ने हो । ठुला योजना, परियोजनामा प्रदेश र सङ्घले सघाउनै पर्छ । मेरो अनुभवमा सन्तुलित रूपले प्रदेश र सङ्घको बजेट विनियोजन हुने गरेको छैन । लमजुङमा आठ पालिका छन् । क्षेत्रफल, सुगमता, जनसङ्ख्या, योजना कार्यान्वयन गर्ने क्षमता जस्ता मापदण्ड बनाएर बजेट विनियोजन हुनुपर्नेमा पहुँचका आधारमा बजेट पर्ने गरेको देखेको छु ।

आन्तरिक आय बढाउन कस्ता प्रयास गर्नुभएको छ ?

हाम्रो मुख्य आन्तरिक स्रोत निकासी कर हो । ढुङ्गा, बालुवाको ठेक्का लगाउने हो । सानातिना बजार पनि भएकाले हामी व्यावसायिक कर पनि लिन्छौँ । हाइड्रोहरू रहेकाले उनीहरूले पनि कर तिर्छन् । हाम्रो आन्तरिक आम्दानी वार्षिक करिब एक करोड छ, त्योभन्दा बढी पदाधिकारीकै सुविधामा खर्च हुन्छ । एकातिर हामीकहाँ आम्दानी गर्ने स्रोत नै कम छन् भने अर्कातिर ती स्रोतलाई समुचित तवरले परिचालन गर्न नागरिक, कर्मचारी संयन्त्र, ऐन, कानुन, जनप्रतिनिधि र समग्रमा नागरिककै भूमिका हुन्छ । आन्तरिक आय बढाउन यी सबै पक्ष लाग्नु पर्छ । 

बाँकी कार्यकालका मुख्य योजना के छन् ?

एउटा अस्पताल बन्दै छ, १० शय्याको, निर्माण सकेर हाम्रै कार्यकालमा सञ्चालनमा ल्याउने लक्ष्य छ । पालिकाको केन्द्र नजिकै रहेको यो अस्पतालले नागरिकलाई सेवा लिन निकै सहज हुने अपेक्षा गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्दै चुस्त रूपमा त्यसलाई चलाइने छ । अबको छ÷आठ महिनामा प्रशासकीय भवन तयार हुन्छ । कृषि र जडीबुटीको उत्पादनमा वृद्धि गर्ने, आयआर्जनमा बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना छ । उत्पादित सामानलाई बजारीकरणमा समेत ध्यान दिई नागरिकलाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य छ । 

मस्र्याङ्दीको समृद्धि आधार के हुन् ?

पर्यटन, जलविद्युत् र कृषि हाम्रो समृद्धिका माध्यम बन्न सक्छन् । पालिकाबाट अहिले ९५ मेगावट बिजुली उत्पादन भएको छ । ६२ मेगाघाट चाँडै थपिनेवाला छ । ठुलो भूगोलमा आठ सयदेखि दुई हजार दुई सय मिटरसम्मका बस्ती छन् । भूगोल अनुरूपका फलफूल, खेतीपाती, जडीबुटी खेती हुने सम्भावना छ । सँगसँगै मनाङ जाने पर्यटकीय मार्गमा मस्र्याङ्दी पालिका पर्छ । आन्तरिक पर्यटक विकासका सम्भावना पनि छन् । 

पालिकाका मूल समस्या र समाधानका उपाय के हुन सक्छन् ?

सङ्घ र प्रदेशले न्यायोचित र सन्तुलित बजेट वितरण गर्ने गरेको छैन । एउटा पद्धति बनाएर बजेट वितरण हुनु पर्छ । कर्मचारीको व्यवस्थापन राम्रो भएको छैन । दुर्गम ठाउँमा कर्मचारी जान नमान्ने, आइहाले पनि सरुवा भइहाल्ने अवस्था छ । जनताका अपेक्षा बढिरहने तर बजेटमा बढोत्तरी नहँुदा जनअपेक्षा अनुरूप काम गर्न सकिएको छैन । मेरो कार्यकालभित्र एउटा लयमा गएको पालिका बनाउने लक्ष्य छ । वडा कार्यालय र गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई व्यवस्थित, चुस्त र वैज्ञानिक बनाइने छ । आम्दानीका स्रोत खोज्दै उत्पादन बढाउन लाग्नु पर्छ । मस्र्याङ्दीमा घनपोखरा, थाम्रोयु, सिउरुङ, वीर भक्ति थापा पार्क, स्यागे झरना, जगत तातोपानी कुण्ड, रक गार्डेन, चिप्ला क्यानोनिङ, बाहुनडाँडा तातोपानी कुण्ड, राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मस्थल, वराहपोखरी, डा. हर्क गुरुङ समाधिस्थल, भुस्मे तामाङ होमस्टे, गाईखुरेश्वर महादेव, सिद्ध कोटकालिका जस्ता पर्यटकीय स्थल छन् । यी स्थलमा पूर्वाधार विकास, पहुँचमार्ग निर्माण गरी आन्तरिक पर्यटन प्रवर्धनका सम्भावना खोजिने छ ।