नवराज नेपाली
बागलुङ (गलकोट), फागुन २८ गते । काठेखोला गाउँपापालिका गाउँ सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित गरिएको गाउँपालिका प्रवक्ता टिका सङ्गम बिकले जानकारी दिनुभयो ।
स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबार लेखाङ्कन तथा प्रतिवेदन आन्तरिक नियन्त्रण गर्न आवश्यक रहेकोले ऐन पारित गरिएको उल्लेख गरिएको छ ।
लेखा परीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरि स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई पारदर्शी, नतिजामुलक तथा उत्तरदायी बनाउन ऐन बनाइएको उल्लेख गरिएको छ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष राजु थापाले बार्षीक नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक, सामाजिक, पूर्वाधार र सामाजिक समावेशिकरण तर्फका महत्वपूर्ण उपलब्धीहरुलाई उल्लेख गरिएको छ ।
पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण तथा प्रचाररप्रसार, कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गर्ने उद्धेश्यले कृषिको व्यवसायीकरण, आधुनिकीकरण तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सामाजिक विकास तर्फ स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिसु स्वास्थ्य सुधार, पोषण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।
पूर्वाधारतर्फ गाउँपालिका भित्रका सडकलाई बाह्रै महिना सवारी सञ्चालन योग्य बनाउने प्रयत्न गरिएको, खेलमैदान तथा अन्य सार्वजनिक संरचनाहरु निर्माण गरिएको उल्लेख गरिएको छ ।
सामाजिक समावेशीकरण तर्फ महिला, दलित, जनजाति ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणकालागि विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । साथै सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाइएको उल्लेख गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले पालिकाको कार्यक्रम र बजेट माथीको समीक्षात्मक प्रगति पेश गर्नुभएको थियो । उहाँले पेश गरेको आर्थिक प्रगति प्रतिवेदनमा पालिकाका २५१ योजना मध्ये १३९ सम्झौता भएको र ३८ योजना समपन्न भएको उल्लेख गरिएको छ ।
वडा तहका २३७ योजना रहेकोमा १२६ योजना सम्झौता भएका छन् भने २५ योजना सम्पन्न गरिएको छ ।
गाउँपालिका गौरवका २ आयोजना मध्ये दुईवटैको सम्झौता गरिएको छ । प्रदेश विशेषका एक योजना सम्झौता हुन बाँकी रहेको छ । प्रदेश समपुरकका एक योजना सम्झौता गरिएको छ । संघीय सशर्तका २ योजना मध्ये २ वटै सम्झौता भई एक वटा सम्पन्न गरिएको छ ।
संघीय विशेष अन्तरगतका २ योजना मध्ये एक वटा सम्पन्न भएको छ । संघीय समपुरकका २ योजनामा २ वटै सम्झौता गरिएको छ । वडा तह र पालिका समपुरकका ३ योजना मध्ये एकवटा सम्पन्न भएको छ भने अन्य योजना सम्झौता गरिएको छ ।