• १३ भदौ २०८१, बिहिबार

मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु

blog

तस्बिर : हरिशरण आचार्य

गुणबहादुर रोका

सुलीकोट, भदौ १२ गते । गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ । आइतबारदेखि परेको वर्षाका कारण मसानठाँटी-लुइँटेल-ठाँटीपोखरी सडकको पुतलीखेतस्थित मालेबगरमा गएको पहिरोलाई तीन दिनपछि पन्छाएर सडक सुचारु गरिएको हो ।  

झण्डै ६० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुङ्गा, माटो र ठुला रुखहरुलाई पन्छाउन पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी तीन दिनपछि सडक पूर्णरुपमा सञ्चालनमा आएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाबाट पालुङटार नगरपालिका, तनुहँ र लम्जुङ जाने मुख्य सडक भएकाले पनि ठुलो पहिरो निरन्तर गइरहेकाले पनि पालुङटार नगरपालिका, स्थानीय जनप्रतिनिधि, मध्यपहाडी लोकमार्गको कार्यालयलको समन्वयमा निरन्तर प्रयास गर्दा पनि जेसिबीले ३ दिनमा बल्ल बल्ल बाटो खुलाइएको उहाँले बताउनुभयो । 

पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताउनुभयो । एउटै सडकमा ठुलो पहिरो गएकाले धेरै समय लागेकाले सडक अवरुद्ध भएको थियो । 

अवरुद्ध भएको सडक पालुङटार नगरपालिका-२ पुतलीखेतस्थित मालेबगरमा पहिरो जाँदा गोरखा नगरपालिकाका सिमानमा रहेका विद्यार्थीहरु पालुङटार नगरपालिकामा पढ्न आउने विद्यार्थी र पालुङटार नगरपालिकाबाट गोरखा नगरपालिकाभित्रका विद्यालयमा पढ्न आउने विद्यार्थी, स्थानीयलाई पैदल यात्रा गर्न समस्या परेको थियो । 

सडक सुचारु भएपछि गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, तनुहँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लम्जुङको राइनास नगरपालिका आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन तथा विद्यार्थी बोक्ने सवारी साधनहरु सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखाका अधिकांश ग्रामीण सडक खण्डहरुमा पहिरो खस्ने, सडक खाल्डाखुल्डी पर्ने पानी जम्ने कारणले गर्दा सवारी साधनहरु गन्तव्यमा मुस्किलले पुग्ने गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।