• १० मंसिर २०८१, सोमबार

प्रकृति दोहनले निम्तिएको सङ्कट

blog

वर्षाका कारण सहरका कैयौँ भाग जलमग्न भए । घरहरू कतै बगे त कतै डुबानमा परे । ठाउँ ठाउँका सडकमा कृत्रिम ताल बने । राजमार्गका धेरै ठाउँमा पहिरा गए र त्यो क्रम अझै रोकिएको छैन । आवागमनमा अवरोध भयो । नदीबाट जथाभाबी गिट्टी, बालुवा निकालिएका कारण अधिकांश पुल धरापमा परेका छन् । बाढीपहिरोले मानिस आआफ्ना बस्तीबाट विस्थापित भए । घरमाथिबाट आएको पहिरोले जनधनको अपूरणीय क्षति भयो । किसानका बालीनाली नष्ट भए । 

हरेक वर्ष जसो असार, साउन र भदौमा अधिक समाचार बाढीपहिरोकै हुन्छन् । यस्ता समाचारले धेरैभन्दा धेरै मानिसको मनलाई उद्वेलित बनाउँछ । घाउमा खाटो बस्दै गएपछि बिरामीले पहिले पहिलेका दुःखकष्ट आफसे आफ बिर्से जस्तै हामी पनि पुनः नदोहोरिएसम्म ती कुरा भुसुक्कै बिर्सन्छौँ । जब समय फर्केर आउँछ तब हाम्रा आँखा एकाएक खुल्न थाल्छन् । समस्याका चाङ सुन्दा लाग्छ, पानी यस वर्ष मात्र धेरै परेको हो । 

पहिले यसरी कहिल्यै पानी बर्सदैनथ्यो । कतिपय होचा भाग विशेष गरी राजधानीका बागमती, विष्णुमती, मनोहरा र हनुमन्तेलगायतका नदी, खोला तथा यसका आसपास क्षेत्रमा अव्यवस्थित बसोबास गरिरहेकाले पनि नदीमा बाढी आउँदा घर छाड्नु पर्दैनथ्यो । उनीहरू हिउँदमा जे जस्तो अवस्थामा रहन्थे, वर्षायाममा पनि त्यस्तै रहन्थे । बाटाघाटा र जमिनका होचा भागमा वर्षायाममा पनि पानी जम्दैनथ्यो । आकाशबाट झरेको पानी आफैँ बाटो बनाएर हिँड्थ्यो आदि भनेको सुन्छौँ ।  

मानिस यही भाष्यका पछि पछि हिँडिरहेका छन् । आफूले कहाँ के गर्नुपर्ने हो, त्यसबारे खासै जानकारी राख्दैनन् । यसको साटो अरू ककसले कहाँ के गर्नुपर्ने हो र किन गरेनन् यता उनीहरूको ध्यान ज्यादा जान्छ । एउटा यथार्थ के भने आफ्नो दायित्व/कर्तव्य बुझेर हिँड्नेहरूले पछुताउनु पर्दैन । आज जो जो पछुताइरहेका छन्, मूल कारण उनीहरू आफैँ हुन् । हाम्रो सन्दर्भमा मात्र नभएर यो संसारभर लागु हुन्छ । मानिसकै लापर्बाही र नकारात्मक सोचकै कारण संसार असुरक्षित बनिरहेको हो । उनीहरूको आचरणमा व्यापक परिवर्तन भएदेखि मानव जातिले यति धेरै समस्यासँग पक्कै पनि जुध्नुपर्ने थिएन । 

हिउँद वा वर्षा समयको एउटा चक्र हुन् । हजारौँ वर्षअघिदेखि यो चक्र चलिरहेको छ । आज मात्र नभएर वर्षायाममा बाढी आउने, पहिरो जाने क्रम बर्सौंबर्सदेखि निरन्तर चलिरहेको छ । विशेषतः असार, साउन र भदौमा बढी पानी पर्छ र खोलानालाका रूप तथा आकार परिवर्तन हुन्छन् । सजिलैसँग हिँडडुल गर्न सकिँदैन, यो सबैले जानेकै कुरा हो तर मानिसले प्रकृतिलाई आवश्यकभन्दा बढी दोहन गरेका कारण आजका अधिकांश समस्या सृजित भएको हो । आआफ्ना सुखसुविधाका नाममा उनीहरू प्रकृतिमाथि अनावश्यक दोहन गरिरहेका छन् । प्रकृतिको सन्तुलन खलबलिएका कारण मानव जातिले अप्ठ्यारा असजिला परिस्थिति बेहोर्नु परिरहेको हो । प्रत्येक कामकुरामा ‘हामी’ भन्नुपर्ने ठाउँमा ‘म’ ले नेतृत्व गरिरहेको छ । हामीको सट्टा म हुनु नै समस्या बल्झनुको मूल कारण हो । 

नदी, खोला र खहरेको पनि बाँच्ने एउटा आधार हुन्छ । कहिले सानो त कहिले ठुलो भएर ती रमाइरहेका हुन्छन् । जब हामी आफ्ना सुख सुविधाका लागि उनीहरूका इलाकामा पुगेर ती क्षेत्र आफ्नो कब्जाभित्र पार्न खोज्छौँ तब तिनले पनि विद्रोह आरम्भ गर्छन् । त्यो विद्रोहका कारण पछि हामीले दुःख बेहोर्नुपर्ने हुन्छ । नदी, खोलाका बहाव क्षेत्रलाई छेकथुन नगरे बर्सेनि डुबानमा परियो, खोलाले क्षति ग¥यो, बस्ती बग्यो, सम्बन्धित निकाय मौन बसे भनेर हारगुहार गर्नुपर्ने अवस्था आउँदैन । हाम्रा ध्यान, सोच र चिन्तन त्यता किन जाँदैन ? यो गम्भीर प्रश्न हो र यस प्रश्नको उत्तर हामीले खोज्नु नितान्त आवश्यक छ । 

हामी आफ्नो घर बनाउँछौँ र वरिपरि बचेको जमिनको चारैतिर सिमेन्टले टाल्छौँ । घरमा परेको पानी सोस्नेसमेत माटो हुँदैन । धेरैतिरका पानी जम्मा भएर खोलामा पुगेपछि खोलाका सतह बढ्छन् । खोला र नदीमा पानी बढ्नुको अर्थ ती शक्तिशाली बन्नु हो । शक्तिशाली बनेपछि आफ्नो उपभोग्य क्षेत्र खोज्नुलाई अन्यथाको दृष्टिले हेर्न सकिँदैन । हाम्रा वरिपरि बेफिक्रीसँग खोलाका क्षेत्र बिनाअवरोध अतिक्रमित भइरहेछन् । अतिक्रमित जमिनमा अव्यवस्थित किसिमले घरटहरा बन्ने शृङ्खला जोडतोडले चलिरहेको छ । थुनछेकका सिलसिला चलेका कारण खोला र नदीनालाका बहाव सङ्कुचनमा परिरहेका छन् । हिउँदमा ती सहाराविहीन बने पनि बर्खामा पानी एकत्रित हुने कारण ती बलशाली बन्छन् र गुमेको अधिकार खोज्छन् । यसलाई अस्वाभाविक मान्न सकिँदैन ।  

विकासका नाममा प्रकृतिलाई बेवास्ता गरेर हामी अघि बढ्न खोजिरहेका छौँ तर पाइला अगाडि जानुको साटो पछि पछि हटिरहेको स्थिति छ । यो कुनै पनि हालतमा शुभसङ्केत होइन । विकासका नाममा पुर्खाले गरेका अधिकांश काम अवमूल्यन भइरहेको छ । उनीहरूले जगेर्ना गरेका कुरा बिगारिएका वा भत्काइएका छन् । सहर होस् वा गाउँ पाटीपौवा कतै पनि अस्तित्वमा छैनन् । तिनलाई जोगाउनु औचित्यपूर्ण ठानिएको स्थिति पनि छैन । ठाउँ ठाउँका चौतारा भत्केबिग्रेका र कतिपय त व्यक्तिका सम्पत्तिसमेत बनिसकेको अवस्था छ । बाटो खन्ने नाममा पहाड भत्काइएका छन्, रुख काटिएका छन् । पानीका मुहानमाथि डोजर चलाइएको छ । त्यो ठाउँको भौगोलिक अध्ययन गरिएकै छैन । डोजरको प्रवेशपछि पहाड क्षतविक्षत भएकाले अझ धेरै समस्या उत्पन्न भएका छन् तर हाम्रा ध्यान त्यता जान सकेको छैन । 

प्रकृतिलाई आँखामा राखेर विकासको बाटोमा लागे सधैँ सफल हुन सकिने स्थिति छ तर अधिकांश मानिसको ध्यान त्यता जान सकिरहेको छैन । त्यही कारण हामी दुःखी बन्न परिरहेको छ । प्रकृतिको उपयोग त गरौँ तर अनावश्यक दोहन नगरौँ । समयमै सोच्ने हो भने धेरैभन्दा धेरै समस्याबाट जोगिन सकिन्छ । हाम्रै लापर्बाहीका कारण बारम्बार दु:ख पाइरहेका हौँ । समयमै सोचौँ र पितापुर्खाले कायम गरेको सहिष्णुता जोगाऔँ । प्रकृतिलाई प्रकृतिकै रूपमा बाँच्न दिऔँ, हामी सबैको कल्याण यसैमा छ ।     

Author

नवराज रिजाल