• १० भदौ २०८१, सोमबार

नेपाली समाजमा नैतिकता हराउँदै गयो : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, भदौ १० गते । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्नुहुँदै उहाँले काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले विरोध गर्नेहरू पछाडि कसको हात छ र कुन तत्त्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताउनुभयो ।

‘‘सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत भारतको केही जिल्लाहरू आउनुभएको छ । आदरणीय दाजुभाइ दिदिबहिनीहरु, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरू छन् । धेरै साथीहरू । देउडा खेल्न आएका छन् । गौरा पर्व सुन्न दिँदैनन् । न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरू यहाँ बसेका छन् । यसको पछाडि को छ, को तत्त्व छ, त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई विश्वास छ । आदरणीय दाजुभाइ दिदिबहिनीहरु ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘अहिले यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरूमा मनाइन्छ । यो अत्यन्तै महत्त्वपूर्ण चाडपर्व हो यसले यस्ता आयामहरूले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्त्व खेलेको छ ।’’

सभापति देउवाले गौरालगायतका चाडपर्वहरूले नेपालीहरूलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।