• ११ वैशाख २०८२, बिहिबार

हुप्सेकोट गाउँपालिकाद्धारा अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह

blog

ज्ञानु पंगेनी

मध्यविन्दु, वैशाख ११ गते । नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । 

गाउँपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गरी विगत तीन हप्तादेखि चल्दै आएको शिक्षकहरूको आन्दोलन अझै केही समय लम्बिने सम्भावना रहेको उल्लेख गर्दै नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन र नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो । विद्यालयहरूलाई भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप आइतवारदेखि अनिवार्य सुरु गर्न आग्रह गरिएको छ ।  

गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ, ‘देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूको संविधान सम्मत माग पुरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आव्हान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसद्मा प्रस्तुत गर्नेदेखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने देखिन्छ । ’ 

यसैगरी सूचनामा लेखिएको छ, “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउने लक्ष्य लिएको छ ।  तसर्थ नयाँ शैक्षिक सत्र सुरु भएपश्चात दुई हप्ता व्यतीत भइसक्दा समेत पठन पाठन नहुँदा प्रत्येक गाउँ-टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरूले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न व्यापक गुनासो गरिरहेका छन् । 

यो विषम परिस्थितिको अन्तर मन देखि मनन गरी मिति २०८२-०१-१४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्नुहुन प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट अनुगमन गर्नुहुन जानकारी गरिन्छ ।”