• ११ वैशाख २०८२, बिहिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

अनिल पराजुली
हेटौँडा, वैशाख ११ गते ।
पूर्व–पश्चिम राजमार्गको हेटौँडा–११, थानाभर्‍याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार तामाङ गम्भीर घाइते हुनुभएको थियो । थानाभर्‍याङस्थित सीएमसी चुरेहिल हस्पिटल पुर्‍याउँदा तामाङलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका ३६ वर्षीय रोहित भन्ने मानबहादुर रुम्बा घाइते हुनुभएको छ । उहाँको टाउको, बायाँ हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति करिब १०ः५५ बजे थानाभर्‍याङबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २०३–०१३ प. ४९२१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेर दुर्घटना भएको थियो ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–४ निर्माण व्यवसायी सङ्घ नजिकै मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि बस्ने र पैदल यात्रु घाइते हुनुभएको छ ।

हुप्रचौरबाट भैरव रोडतर्फ जाँदै गरेको ना. ३४ प. ११८१  को मोटरसाइकलले पैदल यात्री हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर बस्ने ४० वर्षीया सरिता दराईलाई ठक्कर दिएको हो । उहाँको टाउकोमा चोट लागेको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–६ हातिलेट बस्ने २० वर्षीय नवीन गौतम र पछाडि सवार हेटौँडा उपमहानगरपालिका–१६ हटिया चिसापानी बस्ने २३ वर्षीय प्रविन दाहाल घाइते हुनुभएको छ । 

गौतमको मुखमा र दाहालको बायाँ खट्टामा चोट लागेको प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।