• १० भदौ २०८१, सोमबार

भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन

blog

काठमाडौँ, भदौ १० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल खेलको कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्य उपसमिति गठन गरेको छ । 

राखेपले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहल निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री र्गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य हुनुहुन्छ ।

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले  विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्नेछ । 

यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डिपीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ । उपसमितिले कार्यादेश अनुसारको काम सम्पन्न गरी ३० दिन भित्र परिषद्मा प्रतिवेदन पेस गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ । 

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।