• ९ भदौ २०८१, आइतबार

एक वर्षमा ८ सय २१ धारा निर्माण

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ ९ गते । छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।  

घरमा धारा निर्माण भएपछि पानीको सास्ती व्यहोर्दै आएका यहाँका नागरिकलाई सजिलो भएको छ । एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्ने गरेकी छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर पानी आउन खुसी हुनुभएको छ । उहाँले भन्नुभयो पानीका लागि साह्रै दुःख थियो । ती दिन अब गए।

छत्रेश्वरी ७ पानीखोलाका मिना कुमारी वलीले अहिले वषाैँदेखिको खानेपानी समस्या समाधान भएको बताउनुभयो । गाउँघरमा खानेपानीका धारा हात धुने स्थान तथा चाङ समेत निर्माण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाले ३६ वटा योजनामार्फत् ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको छत्रेश्वरी गाउँपालिका योजना शाखा प्रमुख नवीन चन्दले बताउनुभयो । उहाँका अनुसार सुस्वा परियोजनामार्फत तीन सय नौ जनाको घरमा धारा निर्माण गरिएको छ । यसबाट दुई हजार ७३९ जना लाभान्वित भएका छन् ।

गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपियाँ लगानी भएको छ । वास संयोजक निमराज केसीले घरघरमा खानेपानीका धारासँगै भाँडाकुँडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान निर्माण गरिएको छ ।  

सङ्कटको समयमा खानेपानीको अभाव हुन नदिनका लागि स्थानीय सरकारले बाढी, खडेरी, वा अन्य प्राकृतिक प्रकोपको समयमा पानीको आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध तयारी गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पानीको बहुआयामिक उपयोगलाई ध्यानमा राखेर योजना बनाएको बताउनुभयो ।