• ९ भदौ २०८१, आइतबार

कर्णाली राजमार्गको दुर्दशा : मर्मत सधैँ हुन्छ तर कहिल्यै टिक्दैन

blog

सडक जीर्ण भएको कर्णाली राजमार्गको एसमोड क्षेत्र । 

प्रेमराज सिम्खडा

कालीकोट, भदौ ९ गते । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतले बर्सेनि मर्मत तथा स्तरोन्नति गर्ने शीर्षकमा ठेक्का लगाउने गरेको छ तर निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा मर्मत गरेसँगै सडक तत्कालै जीर्ण हुने गरेको छ ।

कालीकोटको कालेखोलादेखि पिलीसम्म सडकखण्ड मर्मत र सडक फराकिलो गर्न विभिन्न निर्माण व्यवसायीलाई जिम्मा दिएको थियो तर अहिले ती सडकखण्ड सबैभन्दा बढी जीर्ण भएर जोखिमपूर्ण हुँदै गएका छन् । मान्म खण्डको हुल्मदेखि सदरमुकाम मान्मसम्मको सडक अहिले दैनिक बन्द हुने गरेको छ । राजमार्ग कहिले पहिरोले अवरुद्ध हुन्छ भने कहिले निर्माण व्यवसायीले सडक चौडा गर्दा सडकमै थुपारेको माटो बगेर गाडी चल्न नसक्दा दैनिक यातायात बन्द हुने गरेका छन् । हिलो सडकमा बग्ने भएकाले राम्रो सडक पनि बिग्रिँदै गएको छ ।

खाँडाचक्र नगरपालिका–२ का सुमन शाहीले निर्माण व्यवसायीको लापर्बाहीले सडक झन् जीर्ण हुँदै गएको बताउनुभयो । सडक डिभिजन जुम्लाले मर्मतका लागि ठेक्का लगायो, विभिन्न निर्माण व्यवसायीले सडक चौडा गर्ने काम पाए तर उनीहरूले सडक चौडा गर्दा निस्केको माटो र ढुङ्गाको व्यवस्थापन नगर्दा बर्खाको समयमा सडक बढी जोखिम हुँदै गएको शाहीको भनाइ छ ।

हुल्मदेखि सदरमुकाम मान्मको दुरी ११ किलोमिटर छ तर यही ११ किलोमिटरभित्र झाम्ला मोड, सेरीघाट, हुल्म बजार, पञ्चदेव माध्यमिक विद्यालय, अस्पताल र सशस्त्र ब्यारेक क्षेत्रलगायत सात ठाउँमा सडक निकै जीर्ण बनेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सम्बन्धित कार्यालयले निर्माण व्यवसायीलाई ताकिता नदिएकै कारणले अहिले नागरिकलाई दुःख भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले ठेक्का लगाउने निकायको राम्रो निगरानी नहुने र निर्माण व्यवसायीको कमाउने मनसाय भएकाले सडकमा समस्या हुँदै आएको बताउनुभयो । अबदेखि कार्यालयले निर्माण व्यवसायीलाई सडक मर्मत गर्दा निस्केको माटोको व्यवस्थापन आफैँले गर्नुपर्ने छ भनेर सम्झौतामा लेख्नुपर्ने र निगरानी पनि त्यही अनुसार गरे मात्र यस्ता समस्याको समाधान हुने उहाँले जनाउनुभयो । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले सबैभन्दा बढी समस्या कालीकोट खण्डमा भएको बताउनुभयो । उहाँले सम्झौतामा त्यसरी नलेखिएको जानकारी दिनुभयो तर निर्माण व्यवसायी आफैँले पनि थाहा पाउनुपर्ने विषय भएकाले सडकमा माटोको ढिस्को पारेर छाड्नु उनीहरूकै लापर्बाही भएको जनाउनुभयो ।

निर्माण व्यवसायीकै कारणले कालीकोटको चौखोला, पिली, गल्लीलगायतका क्षेत्रमा पनि सडक अवरोध भइरहेको कार्यालयको भनाइ छ । निर्माण व्यवसायी प्रायः कालीकोटकै स्थानीय भएकाले अटेर गरेर राजमार्गलाई थप जोखिम बनाइरहेको पनि कार्यालयको भनाइ छ ।