• ९ भदौ २०८१, आइतबार

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु, एक वृद्धा घाइते

blog

सर्पको टोकाइबाट मृत्यु भएका दुई बालिका तथा घाइते वृद्ध महिला ।

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) भदौ ९ गते । कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते हुनुभएको छ । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ ।

 शुक्रवार राती  सर्पको डसाइबाट छ बर्षीया काजल घर्तिमगर र चार बर्षीया लीला घर्तिमगरको निधन भएको छ भने अन्दाजी ६७ बर्षीय रिजु घर्तिमगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको स्थानीय शङ्कर पुनमगरले बताउनुभयो । 

उहाँका अनुसार झुल नलगाई खाटमा संगै सुतेका बालिकालाई पहिला टोकेर वृद्ध महिलालाई टोकेपछि उहाँ बिउँझनु भएको र तुरुन्तै सर्प दंश उपचार केन्द्र बडैपुर लगिएको थियो । 

बालिकाहरूलाई टोकेको उनीहरूले बान्ता गर्न थालेपछि मात्र थाहा भएको र ढिला अस्पताल पुर्याउदा मृत्यु भएको बताइएको छ । तीन बर्ष पहिला छारे रोगबाट बुबाको मृत्यु भई सकेका बालिकाहरूको आमा रोजगारका लागि विदेश जाने तयारीमा काठमाडौँ गएपछि बालिकाहरू बाजे बजैको संरक्षणमा बस्दै आएको स्थानीय पुनमगरले जानकारी दिनुभयो ।