• ९ भदौ २०८१, आइतबार

मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’

blog

 सन्तोष गौतम र कमल खत्री

म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतीक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् ।

“छोरीको खोजबिन र न्यायका लागि भौँतारिन थालेको करिब आठ महिना भयो”, फूलमाया भन्नुहुन्छ, “साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री मीनाकै भए पनि सबै दोषीलाई पक्राउ र अनुसन्धानमा भएको ढिलाइले कतै न्याय नपाइने त होइन भन्ने शङ्कामा छौँ ।”

चन्द्रबहादुर र फूलमायाका तीन छोरी र एक छोरामध्ये कान्छी मीना तोरीपानीको गलेश्वर मावि कक्षा १२ मा पढ्थिन् । गङ्गटो खोज्न गएका स्थानीयले देखेको बेनी नगरपालिका–९ र १० नम्बर वडाको सिमानामा पर्ने उत्तिसको जङ्गलमा भेट्टाएको शव र सामग्रीलाई सङ्कलन गरेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेको छ । मीनाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शव दाहसंस्कार नगरी बेनी अस्पतालका शवगृहमा राखेको मीनाकी भाउजू कमला बर्देवा परियारले बताउनुभयो ।

“अहिलेसम्म हत्याराहरू सार्वजनिक गरिएको छैन, एउटा मान्छले मात्र यसरी घटना घटाएको होइन, न्यायका लागि धाउँदा धाउँदै थाकिसकेका छौँ”, कमलाले भन्नुभयो, “छिमेकी राम खत्रीको प्रेममा रहेकी मीना करिब छ महिनाको गर्भवती भएको उनीहरू दुईजनाबीच बेपत्ता हुँदाको राति भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ”, २५ वर्षीय राम विवाहित हुन् ।

अनुसन्धानको उपलब्धि

परिवार, आफन्त र नातागोता सबैको क्षमताले भ्याएसम्म खोजतलास गर्दा मीनाको अवस्थाबारे पत्ता लाग्न नसकेपछि २०८० साल पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मीना र रामको ‘म्यासेन्जर’ कुराकानी भेटिएपछि माघ २१ गते मीनाका बुबा चन्द्रबहादुरले रामले छोरीलाई बेपत्ता बनाएको किटानी जाहेरी दिनुभयो ।

जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपी रामलाई पक्राउ गरेको थियो । व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

शव भेटिएपछि घटनाले नयाँ मोड लियो  

साउन २७ गते मीनाको शव भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । थुनामा रहेका रामसहित उनका परिवारका सदस्य र आफन्तसहित पाँचजनालाई प्रतिवादी बनाएर मीनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीका आधारमा थप तीनजनालाई फरक–फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

“पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएका छन्”, फरार एकजनाको खोजी भइरहेको छ ।

चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायत तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुणसमेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको रायमाझीले बताउनुभयो । 

‘न्यायका लागि हारगुहार’

मीना हराएदेखि नै यस घटनामा प्रहरी प्रशासनले गम्भीरताका साथ अनुसन्धान र खोजतलास नगरेका कारण अवस्था पत्ता लगाउन र न्यायमा ढिलाइ भएको भन्दै पीडित पक्षले तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता, सांसद र अधिकारकर्मीलाई भेटेर दबाब दिएका थिए ।

पक्राउ परेका आरोपीलाई सार्वजनिक, थप आरोपी पक्राउ, सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो एक हप्तायता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रूपमा हत्या गरेको प्रमाण भेटिए पनि प्रहरीले गहिरो गरी अनुसन्धान नगरेका कारण न्यायका लागि हारगुहार गर्नुपरेको संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो ।

“दलित भएकै कारण किटानी लिएर जाँदा यो र त्यो मिलेन भन्दै पन्छाउने काम भयो, सांसद र मन्त्रीलाई गुहार मागेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो”, उहाँले भन्नुभयो, “न्याय पाइन्छ भनेर आश्वस्त हुनसक्ने अवस्था नभएकाले दबाब र खबरदारी गरिरहेका छौँ ।”

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले शुक्रबार बेनीमा राजनीतिक दल र जनप्रतिनिधिसँग मीना हत्या प्रकरणमा दोषीमाथि हदैसम्मको कारबाही हुने सुनिश्चिताको प्रतिबद्धताका लागि छलफल तथा अन्तक्र्रिया गरेको थियो । दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन आ–आफ्नो क्षेत्रबाट सम्बन्धित निकायमा ध्यानकर्षण गराउने छलफलमा सहभागी राजनीतिक दल र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

सङ्घर्ष समितिका अध्यक्ष पदम किसानले मीनाको हत्या घटनामा संलग्नलाई कारबाहीको सुनिश्चितता नभएसम्म विभिन्न दबाबमूलक कार्यक्रमलाई जारी राख्ने र आवश्यक परे चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । 

संविधान र कानुनले जातीय विभेद तथा छुवाछूतलाई अपराध माने पनि अन्तरजातीय प्रेम र विवाहका कारण व्यक्तिको हत्या, आत्महत्या, विस्थापित हुने अवस्था आउनुले पीडा र समाजमा अझै चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता महसुस भएको दलित अगुवा टेकबहादुर विश्वकर्माले बताउनुभयो । रासस