• १६ भदौ २०८१, आइतबार

मधुश्री प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार प्रदान

blog

काठमाडौँ, भदौ ८ गते। प्रा. डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले विभिन्न प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ। प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाको अवसर पारेर शनिबार काठमाडौँमा साहित्यकार डा. नवराज लम्सालसहित विभिन्न व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको हो। 

क्यान्सरका कारण गत वर्ष निधन हुनुभएकी प्रा. डा. तथा गणितविज्ञ उर्मिला प्याकुरेल तथा साहित्यिक उपनाम मधुश्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो। उहाँको उपचारार्थ सङ्कलित रकमसहितको अक्षयकोष स्थापना गरेर प्राज्ञिक, साहित्यिक तथा स्वास्थ्य समाजसेवामा प्रतिष्ठानले काम सुरु गरेको अध्यक्ष प्रा.डा. टङ्कनाथ धमलाले जानकारी दिनुभयो। 

उहाँले अक्षयकोषको रकमलाई वृद्धि गर्दै लैजान संरक्षण सदस्यका रूपमा थप सहयोग रकम सङ्कलन सुरु भएको बताउनुभयो। उहाँका अनुसार आगामी वर्ष प्याकुरेलको स्मृतिमा स्मारिका प्रकाशन, उहाँका कथाहरू सङ्कलन गरी सङ्ग्रह प्रकाशनसहित शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिष्ठानको योजना रहेको छ। 

साहित्यकार लम्साललाई नेपाली साहित्यको उन्नयनमा योगदान पुर्‍याएबापत कदरपत्रसहित प्रमुख अतिथि प्रा.डा. राजेन्द्र बराल तथा प्रतिष्ठान परिवारसहितले सम्मानित गर्नुभयो। 


त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा उच्च अङ्कसहित सर्वोत्कृष्ट हुने ध्रुव पौडेल र भुवनेश्वरी गिरी, सन्देश ठकुरी, जयन्ती साउदलाई २५ हजार रुपियाँ र कदरपत्रसहित पुरस्कृत गरिएको थियो। 

त्यस्तै, विश्वविद्यालयस्तरीय शोधपत्र लेखनका लागि एलिना श्रेष्ठ र जयन्ती साउदलाई दस हजार रुपियाँका दरले अनुदान सहयोग प्रदान गरिएको थियो। 

प्याकुरेलले बाल्यकालमा अध्ययन गर्दै उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोकको कालिका प्राविकी छात्रा अनुजा माझीलाई दस हजार रुपियाँ र बाघभैरव माविका सञ्जिता पहरीलाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो। 

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित मधुश्रीका गीत तथा कविता सङ्ग्रह मधुरस र उहाँका दाजु उद्धव प्याकुरेको किशोर उपन्यास तक्माको पनि विमोचन गरिएको थियो। 

प्रमुख अतिथि तथा वरिष्ठ क्यान्सर चिकित्सक राजेन्द्रप्रसाद बरालले उच्च मनोबलका कारण लामो समय क्यान्सर जितेर आफू र अरुलाईसमेत बाँच्नका उर्मिलाले प्रेरित गर्नु भएको स्मरण गर्नुभयो। 

डा. नवराज लम्सालले बालखैदेखि अध्ययनसँगै साहित्य लेखनमा सक्रिय मधुश्रीका रचनामा नेपाली माटोको सुवास भेटिने गरेको स्मरण गर्नुभयो। 

उहाँले लेख्नु भएका कविता र गीतबारेमा चर्चा गर्दै महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले छापिएका १२७ वटा सिर्जनामा लोकभाका, संस्कृत छन्द र गद्य कविताको धार पनि प्याकुरेलको राम्रो रहेको बताउनुभयो। 

प्रा. डा. ध्रुव घिमिरेले उद्धव प्याकुरेलको तक्मा उपन्यासबारेको समीक्षा गर्दै उपन्यास किशोर मानसिकता बुझाउन सफल रहेको प्रष्ट्याउनुभयो। कार्यक्रममा बाघभैरव माविका प्रधानाध्यापक शिवप्रसाद न्यौपानेले उर्मिला सानैदेखि धेरै विद्यार्थीका माझमा सधैँ प्रथम हुने गरेको स्मरण गर्नुभयो। 

प्रतिष्ठानका सचिव उद्धव प्याकुरेल र कोषाध्यक्ष नवराज सापकोटाले कोषका गतिविधिबारे जानकारी दिनुभयो। प्याकुरेलको एक वर्षअघि २०७९ चैत २९ गते निधन भएको थियो।