• १२ पुस २०८१, शुक्रबार

लिजाको नतिजा गुणस्तर परीक्षणमा रुरुक्षेत्र उत्कृष्ट

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ७ गते । कार्यसम्पादनमा अब्बल बन्दै गएको गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा गुणस्तर परीक्षणमा पनि देशमै उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको लिजाको नतिजा गुणस्तर परीक्षणमा गाउँपालिका मध्येबाट देशभरकै दोस्रो र लुम्बिनी प्रदेशमा पहिलो गाउँपालिका बनेको सार्वजनिक परीक्षणमा उल्लेख छ । 

आर्थिक वर्ष २०७९–०८० को लिजाको नतिजा गुणस्तर परीक्षण क्रममा गुल्मी जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यस रुरुक्षेत्र गाउँपालिकाले ८७.०० प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट गाउँपालिका भएको हो । जिल्लाको मदाने गाउँपालिकाले ८५. ७५ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८५.०० प्रतिशत अङ्क प्राप्त गरेको मन्त्रालयबाट सम्पन्न भएको लिजाको नतिजा गुणस्तर परीक्षणमा उल्लेख गरिएको छ । 

लिजाको नतिजा गुणस्तर परीक्षण क्रममा रेसुङ्गा नगरपालिका र चन्द्रकोट गाउँपालिकाले ८४.०० प्रतिशत, गुल्मीदरबार गाउँपालिकाले ८३.२५ प्रतिशत, इस्मा गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले ८१.२५ प्रतिशत, मालिका गाउँपालिकाले ८०.२५ प्रतिशत, मुसिकोट नगरपालिका ७९.०० प्रतिशत, सत्यवती गाउँपालिकाले ७७.०० प्रतिशत र छत्रकोट गाउँपालिकाले ७५.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिजाको गुणस्तर परीक्षणको क्रममा उत्कृष्ट तीन नगरपालिका र तीन गाउँपालिकालाई सम्मान गरेको छ । 

लिजाको नतिजा गुणस्तर परीक्षणको क्रममा नगरपालिकातर्फ धादिङको निलकण्ठ नगरपालिकाले ९२.५० प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९२.०० प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो र चितवनको रत्ननगर नगरपालिकाले ९१.५० प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो भएको उल्लेख छ । गाउँपालिकातर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले ८७.०० अङ्क प्राप्त गर्दै दोस्रो भएका हुन् । 

स्थानीय सरकारले आफूले सम्पादन गरेको क्रियाकलापलाई व्यवस्थित गर्न जरुरी रहेको भन्दै स्थानीय तहमा प्रतिस्पर्धात्मक वातावरण सृजना भई कार्य प्रणालीमा सुधार आउने रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । कार्यविधिले तोकेबमोजिमका क्रियाकलापहरुको प्रमाणित कागजात पेश गरि मूल्याङ्कन गर्न सकिने हुँदा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य–सम्पादन गरी अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउन सकिने उहाँले बताउनुभयो । 

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको लागि तय भएका विभिन्न दश वटा क्षेत्रका १०० वटा सूचकमा आधारित भएर नीति तथा कार्यक्रम, गाउँसभा तथा कार्यपालिका बैठक सञ्चालन, विभिन्न कार्यक्रम सञ्चालन लगायतका क्रियाकलापहरुमा समन्वयात्मक किसिमले कार्ययोजना सहित कार्य सम्पादन गरेमा उत्कृष्ठ नजिता र अपेक्षित उपलब्धी हासिल गर्न सकिने अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।