ललित बसेल
सुर्खेत, भदौ ७ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर बहुप्रकोपको उच्च जोखिममा रहेको छ । यो क्षेत्र बाढी, पहिरो, आगलागी, चट्याङ, डुबान, खडेरी, भूक्षय, भूकम्प र असिना जस्ता बहुप्रकोपको उच्च जोखिममा रहेको छ । त्यति मात्र होइन, बढ्दो जनसङ्ख्या र सहरीकरणले यो क्षेत्रको विपत् जोखिमलाई झन् बढाएको छ ।
यही बहुप्रकोपको जोखिमलाई न्यूनीकरण गर्नका लागि पाँच वर्षअघि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको कार्यक्रम (तयार नेपाल) ले वीरेन्द्रनगर नगरपालिकासँग विभिन्न कार्यक्रम गरेको छ । पाँच वर्षको अवधिमा नगरपालिकाले वीरेन्द्रनगरको विपत् जोखिम नीति, फोहोर व्यवस्थापन, खाद्य सुरक्षा, जलवायु परिवर्तन, हरित नगर, भूउपयोग नीतिहरू निर्माण गरी काम थालिएको छ ।
वीरेन्द्रनगरले विपत् जोखिम न्यूनीकरणमा हासिल गरेको उपलब्धि सार्वजनिक गर्दै नगरपालिकाका वातावरण तथा योजना शाखा प्रमुख प्रकाश पौडेलले आपत्कालीन कार्य सञ्चालन केन्द्र निर्माण गरी आवश्यक सामग्रीको व्यवस्थापन गरिएको, आपत्कालीन अवस्थामा २६ सै घण्टा १०१ नम्बरसहित विपत् उद्धार टोली तयारी अवस्थामा रहने व्यवस्थासमेत मिलाइएको जनाउनुभयो । यसै गरी विशेष तालिमप्राप्त जनशक्तिसहितको दमकल टिम परिचालन भएको, आफ्नै भिएचएफ सञ्चार सेट प्रयोग गरी विपत् व्यवस्थापन गरिएको छ ।
साथै नगरपालिकाको बजेट तथा कार्यक्रममा विपत् जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइएको, जोखिम संवेदनशील भूउपयोग योजना कार्यान्वयनमा अगाडि बढेको, एकीकृत बस्ती विकासका लागि अध्ययनसहित जग्गा एकीकरणको सुरुवात गरिएको, जोखिमयुक्त क्षेत्रमा सूचना प्रणाली जडान गरिएको छ ।
यस्तै विपत् नियन्त्रणका लागि चट्याङ टावरलगायतका संरचनाहरू नगरपालिकाले निर्माण गरेको, फायर फाइटिङ टिमका लागि अत्याधुनिक उपकरणसहित परिचालन गरिएको, नगरलाई हरियाली बनाउन दुई हजार पाँच सय बिरुवा रोपिएको, खानेपानी तथा सरसफाइका लागि भेरी लिफ्टिङ आयोजना सुरु भएको, सुर्खेत उपत्यकाभित्रका खोलामा तटबन्ध निर्माण गरिएको छ । पानीको मुहान संरक्षण गरी हरियाली प्रवर्धनका लागि जलभरण क्रियाकलाप गरिएका छन् भने वडा वडामा आगलागी नियन्त्रण र व्यवस्थापनको सहजीकरण गरिएको वातावरण तथा योजना शाखा प्रमुख पौडेलले बताउनुभयो । युएसएआइडीको तयार नेपाल परियोजना प्रमुख तीर्थराज जोशीले पाँच वर्षको अवधिमा वीरेन्द्रनगरको विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय काम भएको बताउँदै परियोजना सकिए पनि यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले पाँचवर्षे अवधिमा भएका काम अन्य पालिकाका लागि उदाहरणीय पनि भएको हुँदा वीरेन्द्रनगरसँग सहकार्य गर्न पाउनु सुखद भएको उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युएसएआइडीसँगको सहकार्यका कारण नगरपालिकाको भूउपयोग नीति, फोहोर व्यवस्थापन, विपत् न्यूनीकरण नीति, हरित नगर बनाउन सहज भएको बताउनुभयो । उहाँले सन् २०३० सम्म वीरेन्द्रनगर नगरलाई हरियालीमैत्री सहर बनाउने योजनाका साथ काम भइरहेको जनाउनुभयो । रत्न राजमार्गको तल्लो क्षेत्रमा अव्यवस्थित बसोबास रहेको भन्दै त्यसलाई व्यवस्थित बनाइने उहाँले जनाउनुभयो ।
यसैबिच विपत् जोखिम न्यूनीकरणमा नगरपालिकालाई उल्लेख्य सहयोग गरेको भन्दै नगरपालिकाले युएसएआइडीको तयार नेपाल परियोजनालाई सम्मान गरेको छ । परियोजना प्रमुख तीर्थराज जोशी, व्यवस्थापन विज्ञ कल्पना अर्याललाई नगरप्रमुख ढकालले सम्मान गर्नुभयो ।