• १४ पुस २०८१, आइतबार

‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’

blog

काठमाडौँ, भदौ ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ भन्नुभयो ।

मन्त्री अधिकारीले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो सर्त भए पनि जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको उल्लेख गर्नुभयो । 

उहाँले कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको सामना गर्दै कृषि उत्पादनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि उन्नत जातका गुणस्तरीय बिउबिजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिनुभयो ।

बिउबिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बिउ उत्पादन कार्यमार्फत नेपालको खाद्य सुरक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो । कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बिउ व्यवसायी सङ्घलगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।