पुरुषोत्तम सुवेदी
(पश्चिम) नवलपरासी, असार ११ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखिएको यो बजेटले नगरको सर्वाङ्गीण विकासमा जोड दिएको छ । यसैबिच, नगरसभाले सबै विषयगत समितिहरू पनि विघटन गरेको छ । १६औँ नगरसभामा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बजेट प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
बजेटको संरचना र स्रोत
कुल विनियोजित रकममध्ये चालु खर्चतर्फ ५७ करोड ४७ लाख र पुँजीगत खर्चतर्फ ४० करोड २७ लाख छुट्याइएको छ । बजेटका मुख्य स्रोतहरूमा सङ्घीय सरकारबाट ५३ करोड ७० लाख, प्रदेश सरकारबाट ३ करोड ५७ लाख ३८ हजार, नगरपालिकाको आन्तरिक स्रोत (गत वर्षको अल्यासहित) बाट १६ करोड र राजस्व बाँडफाँटबाट २३ करोड ९४ लाख ६२ हजार रुपियाँ समेटिएको छ । यसका साथै ५० लाख नागरिकको लागत सहभागिताबाट प्राप्त हुने अनुमान गरिएको छ ।
प्राथमिकताका क्षेत्रहरू र मुख्य कार्यक्रम
नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगर गौरवका योजनाहरूलाई समेत बजेटमा प्राथमिकता दिइने बताउनुभयो । वडाबाट आएका योजनाहरूलाई प्राथमिकीकरण गरेर बजेट संशोधन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
बजेटमा विपद व्यवस्थापन कोषका लागि ४० लाख रुपियाँ र नमुना वडा विकास कार्यक्रमका लागि एक करोड विनियोजन गरिएको छ । यी कार्यक्रमहरूले स्थानीय तहमा विपदको जोखिम न्यूनीकरण र वडास्तरमा समानुपातिक विकासमा मद्दत पु¥याउने विश्वास लिइएको छ ।
विषयगत समिति विघटन र अन्य निर्णयहरू
नगरसभाले आफ्नो पदावधि सकिएकाले सबै विषयगत समितिहरूलाई विघटन गर्ने निर्णय पनि गरेको छ । नगर प्रमुख श्रेष्ठका अनुसार अब नयाँ विषयगत समितिहरू गठन गरेर अघि बढिनेछ । यसका अतिरिक्त, नगरसभाले विभिन्न विधेयक एवम् ऐनहरूलाई सर्वसम्मतले पारित गरेको छ, जसले नगरपालिकाको दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउनेछ ।
बर्दघाट नगरपालिकाको आगामी आर्थिक वर्षको अन्तिम नगरसभा असार २७ गते बस्ने बताइएको छ । यो बजेटले नगरको चौतर्फी विकास र नगरवासीको हितमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।