• ११ असार २०८२, बुधबार

साम्बा चोकमा पर्यटकको घुइँचो

blog

साम्बा चोकमा घुम्न आएका पर्यटक । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदाता

लमजुङ, असार ११ गते । चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानमा स्थापना गरिएको ‘साम्बा चोक’ यतिबेला पर्यटकको नयाँ गन्तव्यस्थल बनेको छ । मस्र्याङ्दी गाउँपालिका–९, खुदी पुलनजिक बनाइएको यो चोकमा घुम्न आउने पर्यटक बढ्दै गएका छन् । 

गत जेठ ५ गते साम्बाको प्रतीकसहितको स्तम्भ राखिएपछि हेर्न र फोटो खिच्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीय होटेल व्यवसायी सीता श्रेष्ठले बताउनुभयो । जिल्लाभित्र र बाहिरबाट खेलकुदप्रेमी पर्यटक घुम्न आउने गरेको स्थानीयले बताएका छन् । अन्नपूर्ण पदमार्गमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक पनि यहाँ घुमेर जाने गरेको स्थानीय व्यवसायी वीरेन्द्र भण्डारीले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बा चोकमा तस्बिर खिच्ने, भिडियो टिकटक बनाउन आउने पर्यटक बढेको बताउनुभयो । उहाँले यस चोकका कारण स्थानीय क्षेत्रको व्यापार व्यवसायसमेत बढेको जनाउनुभयो ।

साम्बा चोक घुम्न आउनुभएका पर्यटक शङ्कर घिमिरेले यहाँ आइपुग्दा निकै रमाइलो र खुसी लागेको बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका–४, ताघ्रिङका प्रदीप गुरुङले पालिकाकै चेली सावित्राको नामबाट नामकरण भएको चोकमा आउँदा गर्व लागेको उल्लेख गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले साम्बा पालिकाको मात्र नभएर राष्ट्रको गहना भएकाले उहाँको सम्मानमा साम्बा चोक स्थापना गरेको बताउनुभयो । 

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेको वडा नं. ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो ।

हाल फ्रान्सेली लिग प्रिमियरको फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्रा विसं २०५४ जेठ १० गते मस्र्याङ्दी गाउँपालिका–९, पामचोकमा जन्मनुभएको हो । भण्डारी नेपाली फुटबल क्षेत्रमा ‘साम्बा’ उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरेर नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुनुहुन्छ । सावित्रा अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ ।