• ७ भदौ २०८१, शुक्रबार

पहिरोले नर्सरीमा ठुलो क्षति

blog

पहिरोले क्षतिग्रस्त नर्सरी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ ६ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाइटेक नर्सरीमा पहिरोको कारण क्षति पुगेको छ । लगातारको वर्षाका कारण नर्सरीमुनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा क्षति भएको हो । 

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा डिभिजन वन कार्यालय रुकुमपश्चिमले स्थापना गरेको सो नर्सरी अहिले युवा सिर्जनशील कृषि तथा पशुपन्क्षी फर्मले सञ्चालन गरिरहेको छ । 

करिब एक करोड दश लाख रुपियाँको लगानीमा निर्मित सो नर्सरी गत वर्षको मङ्सिर महिनाबाट सञ्चालनमा आएको थियो । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले हाइटेक प्रविधिको उक्त नर्सरी पहिरोले क्षतिग्रस्त बनाएको बताउनुभयो । उहाँका अनुसार पहिरोले नर्सरीमा जडान गरिएका सबै संरचनामा क्षति पुगेको छ ।  

फर्म सञ्चालिका समकृति पुनका अनुसार छिनखेत नदुवा सडक खण्डतर्फको भागबाट पहिरो जाँदा नर्सरीको आधा भाग भत्किएको छ भने जडान भएका सबै उपकरणमा क्षति पुगेको छ । हाइटेक नर्सरीको रूपमा जडान गरिएको कुनै पनि संरचना ठिक नरहेको सञ्चालिका पुनको भनाइ छ । 

‘अब हाइटेक नर्सरी रहेन’ पुनले भन्नुभयो, ‘बिरुवा उत्पादन र बजारीकरणको शृङ्खला जोडेर लयमा आउन थालेको बेला नर्सरीमा पहिरो जानु किसानका लागि समेत दुर्भाग्य हो ।’