• १६ भदौ २०८१, आइतबार

मङ्कीपक्स रोग लाग्नै नदिने यस्ता छन् उपाय

blog

काठमाडौँ, भदौ ७ गते । हाल अफ्रिकी मुलुकमा तीव्र रूपमा फैलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । अफ्रिकी मुलुकमा मात्र सीमित यो रोग केही वर्षदेखि विश्वका विभिन्न देशमा देखिँदै आएको छ । 

मङ्कीपक्स विश्वभर फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । नेपालमा हालसम्म यो रोग नदेखिए पनि विश्वका धेरै मुलुकमा देखापरेकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मङ्कीपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । यो सङ्क्रमित व्यक्ति वा पशुसँग सम्पर्कमा आउँदा थुक, र्‍याल, घाउ, खटिरा शरीरबाट निस्कने तरल पदार्थ दूषित सतह र सामग्रीबाट सर्ने डा. पुन बताउनुहुन्छ ।  त्यसका अलावा श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालाबाट निस्किएको तरल पदार्थबाट सर्ने गर्छ ।  

बाँदर, मुसा, लोखर्के लगायतका जनावरबाट यो रोग मानिसमा सर्ने डा. पुनको भनाइ छ । डा. पुनका अनुसार ज्वरो आउनु, सामान्यतया ज्वरो सुरु भएको १ देखि तीन दिनभित्र छालामा दाग देखिनु, अनुहारमा, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थिहरू बढ्नु मङ्कीपक्सका प्रमुख लक्षण हुन् । यो रोग सामान्यतया लक्षण देखिएको १४ देखि २८ दिनसम्म रहने र आफैं हराउँछ । 

बाँदर, मुसा, लोखर्के लगायतका जनावरबाट यो रोग मानिसमा सर्ने डा. पुनको भनाइ छ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई आँखामा सङ्क्रमण  र दृष्टि गुम्नु,  अन्य जीवाणुको सङ्क्रमण, मस्तिष्क ज्वरो आउने, गर्भ खेर जानु, मृत्युसमेत हुने जोखिम रहेकोले सचेत रहन डा. पुनको आग्रह छ । 

डा. पुनका अनुसार मङ्कीपक्स भएमा लक्षणका आधारमा उपचार सम्भव छ । त्यसैले मङ्कीपक्सको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्शमा उपचार गर्न डा. पुनको सुझाव छ ।  मंकीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित  व्यक्तिलाई घरमा  वा अस्पतालमा आइसोलेसनमा राख्ने,  सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले विशेष ख्याल राख्ने । घाउसँग प्रत्यक्ष सम्पर्कमा आउँदा पन्जा लगाउने । यो रोगबाट जोगिन नियमित रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन डा. पुनको सुझाव छ 

मङ्कीपक्सका विषयमा केन्द्रित भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको भिडियो संवाद :

 भिडियो : मनोरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।