• ११ मंसिर २०८१, मङ्गलबार

उत्पादन मूल्य आफैँ तोक्दा किसानलाई राहत

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, भदौ ६ गते । वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावी बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् । 

तरकारी बजार ल्याउनुपूर्व बजार भाउ सोधेर मात्र बोरा खोल्ने किसान यति बेला आफ्नो तरकारीको मूल्य आफैँ निर्धारण गरिरहेको बताउँछन् । मोरङको रतुवामाई–३, महादेवका तरकारी किसान यमलाल दासले भन्नुभयो, “दुई बिघा खेतमा लगाएको तरकारीले राम्रो मूल्य पाएको छ । अरू बेला थोकमा बिक्री गर्थे । साउन १५ यता आफैँ बेचिरहेको छु ।” दासको बारीमा अहिले भिन्डी, बैगुन, बोडी, करेला, लौका र खुर्सानीलगायतका तरकारी छन् । अहिले यमलालको परिवारका सबै सदस्य आफैँ गुद्री बजार लगेर तरकारी बिक्री गरिरहनुभएको छ ।

दास मात्र होइन, पथरीशनिश्चरे–६, केचनाका तरकारी उत्पादक इन्द्रजित मण्डल पनि आफ्नो उत्पादन आफैँ बिक्री गर्न बस्नुहुन्छ । उहाँले भन्नुभयो, “भारतबाट तरकारी आउने व्रmम अलि कम हुनासाथ हाम्रो उत्पादनले राम्रो मूल्य पाउँछ । पहिले ठुला व्यापारीलाई सोधेर आफ्नो तरकारीको मूल्य निर्धारण हुन्थ्यो । अहिले आफ्नो तरकारीको मूल्य आफैँ तोकेर बेचिरहेका छौँ ।” 

अघिल्लो बजारमा प्रतिकेजी ५० रुपियाँमा बिक्री गरेको भिन्डी अहिले मङ्गलबारको हाटमा ८० रुपियाँ प्रतिकेजीले बिक्री भएको बताउनुभयो । 

रतुवामाई–५, कोइलीडाँगीका मनोज दासले भन्नुभयो, “१० कट्ठामा पिँडालु लगाएको छु । अघिल्लो साता ८० रुपियाँ किलो बिक्री गरेको पिँडालु मङ्गलबार १०० रुपियाँ किलोमा बिक्री भयो । उहाँले पिँडालुसँगै झिँगनी, घिरौँलालगायतका तरकारी लगाउनुभएको छ । यही मूल्यमा तरकारी बिक्री गर्न पाए १० कट्ठाबाट एक लाख ५० हजार रुपियाँको तरकारी बिक्री हुने दासले बताउनुभयो ।”   

 सामान्यतया पूर्वमा साउन तेस्रो सातादेखि भदौभर तरकारीको मूल्य उच्च हुने गर्छ तर पहाडमा ग्रामीण सडक सञ्जाल नबिग्रिँदा तरकारीको मूल्य खासै नबढ्ने तरकारी व्यापारी बताउँछन् । साउन २० गतेसम्म प्रतिकेजी ५०/५५ रुपियाँँ खुद्रा मूल्यमा पाइने टमाटरको मूल्य केजीको १२० पुगेको छ । ४० रुपियाँँ केजीको भिन्डीको मूल्य ८० रुपियाँँ पुगेको छ । यस्तै ६० रुपियाँ प्रतिकेजीको प्याज एक सय रुपियाँँ पुगेको छ । 

यस्तै लसुन चार सय रुपियाँ प्रतिकिलो पुगेको छ । लसुन साताअघि २५० रुपियाँदेखि ३०० मा बिक्री हुँदै आएको व्यापारी अनुप साहले बताउनुभयो । आलुको मूल्यसमेत किलोमै ४० रुपियाँ बढेको छ । साउन तेस्रो साता ४० रुपियाँ किलोको नयाँ पहाडे आलु मङ्गलबार ८० रुपियाँमा बिक्री भएको थोक बिव्रmेता रमेश साहले बताउनुभयो । बजारको सबैभन्दा सस्तोे इस्कुस भएको छ । ६० रुपियाँ प्रतिकिलोमा बिक्री भएको इस्कुस मङ्गलबार ४० रुपियाँमा बिक्री भयो । त्यति मात्र होइन, जङ्गलबाट टिपेर ल्याएको निहुरोसमेत ५० रुपियाँ मुठामा बिक्री भयो । साउन तेस्रो साता निहुरो ३० रुपियाँ मुठामा बिक्री भएको थियो ।

इलाम, पाँचथर र धनकुटाबाट आउने काँक्रा, डल्लेखुर्सानी, मुला, तामाको मेसोको मूल्यसमेत दोब्बर भएको उर्लाबारीका थोक तरकारी व्यापारी गजेन्द्र अधिकारी बताउनुभयो । अधिकारीका अनुसार पहाडी कृषि सडक बाढीले भत्काएपछि किसानको बारीसम्म गाडी पुग्न छोडेको छ । स्थानीय कृषि मजदुरलाई बोकाएर गाडीसम्म तरकारी ल्याउँदा मूल्य बढेको अधिकारीको भनाइ छ ।