• १७ पुस २०८१, बुधबार

राष्ट्रिय परिचयपत्रका लागि भिड

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ६ गते । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको सङ्ख्या घट्न सकेको छैन । 

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेको भिड बढेको छ । लगातार भिड बढिरहँदा व्यवस्थापनमै समस्या परेको कर्मचारीले गुनासो गरेका छन् । परिचयपत्रका लागि दिनभर जसो नै लाममा बस्नु पर्दा सेवाग्राही हैरान छन् । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा मात्रै दैनिक दुई सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आउने गरेका छन् । 

कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कार्यालयका कर्मचारी र राष्ट्रिय पञ्जीकरण विभागबाट पठाइएका कर्मचारी खटाएर दिनहुँ विवरण लिइरहँदा पनि भिड कम नभएको बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको नम्बरसमेत खुलाउनुपर्ने व्यवस्था गरिएपछि सेवाग्राहीको चाप थेग्नै हम्मे हम्मे परेको हो । 

नागरिकता फाँटको चाप थेग्न जहिल्यै मुस्किल पर्ने जिल्ला प्रशासन कार्यालयलाई अहिले राष्ट्रिय परिचयपत्रतर्फको थेगिनसक्नु भिडले थप अप्ठ्यारोमा पारेको छ । अत्यधिक भिडभाड भएपछि जिल्ला प्रशासन कार्यालयले एउटा पालिकाका सेवाग्राहीले हप्तामा तीन दिनमा पालो पाउने गरी राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिरहेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले कतिपय सेवाग्राहीको नागरिकता अत्यन्त पुरानो हुँदा पुनः नागरिकता बनाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुपर्दा सेवाग्राही दोहो¥याएर आउनुपर्ने स्थिति पनि रहेको बताउनुभयो । भ्याएसम्म सेवाग्राहीलाई एकै दिनमा नागरिकता र राष्ट्रिय परिचयपत्र दुवै काम सकेर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मलङ्गवासँगै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयलाई पनि राष्ट्रिय परिचयपत्रतर्फको भिड व्यवस्थापन टाउको दुखाइ बनेको छ । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले दैनिक १३० जना सेवाग्राहीसम्मको विवरण भर्ने काम हुँदै आएको बताउनुभयो । दुई वटा स्टेसनबाट विवरण भर्ने गरिएकोमा बुधबारबाट एउटा स्टेसनका कर्मचारी केही दिनलाई बिदामा बसेपछि थप समस्या परेको थापाले बताउनुभयो । त्यस्तै इलाका प्रशासन कार्यालय बरहथवामा दैनिक ४० देखि ५० हजार सेवाग्राहीको राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने काम हुने गरेको छ ।